सर्वोच्च अदालतको आदेश

हवाई टिकटमा तत्काल भ्याट नलगाउनू : सर्वोच्च अदालत

आइतबार, साउन १४, २०८०

काठमाडौँ– सर्वोच्च अदालतले तत्काल हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) नलगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । 

पर्यटन व्यवसायीको छाता संस्था नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले दायर गरेको रिटमा सर्वोच्चले आज उक्त आदेश दिएको हो ।

न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले सरकारको निर्णयविरुद्ध अल्पकालीन आदेश जारी गर्दै सरकारी पक्षलाई छलफलका लागि बोलाएको छ ।

नाट्टा उत्प्रेषण मिश्रित परमादेशको माग गर्दै गत साउन ११ गते सर्वोच्च अदालत पुगेको थियो । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत हवाई टिकटमा मूल्य अभिवृद्धि कर लगाउने घोषणा गरेका थिए ।

पर्यटन व्यवसायीले भने हवाई टिकटमा लगाइएको भ्याट व्यवसाय मैत्री नभएको, पर्यटन व्यवसायमा नकारात्मक असर पर्ने, हचुवाका भरमा भ्याट लागू गर्दा नेपालका ट्राभल कम्पनी र यात्रुलाई समस्या हुने भन्दै विरोध गर्दै आएका थिए । 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  २१:३६
प्रतिक्रिया दिनुहोस्