Nic Ad Nic Ad
Nic Ad Nic Ad
हिमालपारि

प्रेमको प्रतीक मानिने ‘यार्तुङ पर्व’मा युवाको सहभागिता घट्दै 

मनाङवासी युवा विदेशिने र रोजगारीका क्रममा अन्यत्र सर्ने प्रक्रियाले गर्दा युवाको सहभागितामा कमी
मंगलबार, साउन ९, २०८०

मनाङ–  हिमालपारिको जिल्ला मनाङमा शुक्रबारदेखि सुरु भएको यार्तुङ (घोडेजात्रा) पर्व सकिएको छ । यहाँको परम्परागत यार्तुङ पर्व चार दिनपछि सकिएको हो ।  हरेक वर्ष यसै समय मनाङवासीले हर्षोल्लासका साथ यार्तुङ पर्व मनाउने गर्छन् । 

samridhi jewllers

यस पर्वमा मनाङवासीले घोडा कुदाएर मनोरञ्जन लिने दिने गर्छन् । समग्रमा सद्भाव कायम गर्ने मान्यता रहेको छ । पर्यटकीय क्षेत्र भएकाले मनाङमा यार्तुङको विशेष महत्त्व र रौनक हुन्छ । मनाङवासीको मुख्य पर्वमध्ये एक मानिने भएकाले विशेषगरी युवा अवस्थाका पुरूषका लागि यो पर्व महत्त्वपूर्ण रहेको छ । यस पर्व मनाउने क्रममा परम्परागत वेशभूषामा सजिएर एक ठाउँमा जम्मा हुन्छन् । उनीहरू परम्परागत बाजागाजा र मौलिक गीत गाउँदै गाउँ परिक्रमा गर्ने प्रचलन रहेको छ । 

यार्तुङ पर्वको शुभकामना आदनप्रदान गर्न घोडा कुदाएर मनारञ्जन लिने गरिन्छ । पुरूष घोडा कुदाएर फर्कंदा महिला सगुन, खादा लिएर उनीहरूको स्वागतमा तम्तयार भएर बसेका हुन्छन् । घोडा कुदाउने काम सकिएपछि सबै भेला भएर सगुन खाई नाचगान गरी रमाइलो गर्ने चलन छ । केही वर्षयता भने मनाङवासी युवा विदेशिने र रोजगारीका क्रममा अन्यत्र सर्ने प्रक्रियाले गर्दा युवाको सहभागितामा कमी आएको छ । 

विगतमा युवाको सहभागिता बढी हुने भए पनि कम हुँदै गएको पर्यटन व्यवसायी विनोद गुरुङ बताउँछन् । “पर्वको संरक्षणका लागि बूढापाकाले मात्रै बचाउन मनाइएको जस्तो भएको छ, पहिलाको जस्तो युवाको सहभागिता छैन, युवा धेरै विदेश पलायन हुँदा पनि यस्तो भएको हो”, गुरुङले भने, “घोडा पनि कम पाल्न थालिएको छ, यसले पनि युवा सहभागिता घटेको हो ।”

केही वर्ष अघिसम्म मनाङमा घोडा नै यातायातको साधन थियो । सडक सञ्जालसँग नजोडिँदा एक ठाउँबाट अर्को ठाउँ जान मनाङवासीले घोडा नै प्रयोग गर्थे । अझै पनि मनाङमा घोडाको प्रयोग हुन्छ । तर विगतमा भन्दा केही कम भने भएको छ । यातायातमा घोडाको प्रयोग बढी हुने र सुख दुःखमा घोडाको साथ हुने हुनाले मनाङीले घोडालाई निकै प्रेमपूर्वक पाल्ने गर्छन् । यार्तुङ पर्वलाई त्यही प्रेमको प्रतीक पनि मानिन्छ । 

विगतका प्रत्येक घरमा दुई÷तीन वटा घोडा पाल्ने गरे पनि हाल आएर घट्ने क्रममा रहेको पर्यटन व्यवसायी गुरुङ बताउँछन् । यार्तुङ कहिलेदेखि मनाउन थालियो भन्ने यकिन छैन । तथापि मनाङवासीले परम्परादेखि नै यो पर्व मनाउने गरिएको बताउँछन् । कतिपयलाई किन मनाइन्छ भन्ने पनि थाहा छैन । मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घले भन्नुहुन्छ, “किन मनाइन्छ भन्ने त थाहा छैन, परम्परादेखि मनाउने चलन हो, परम्परा संरक्षणका लागि हामीले पनि मनाउँदै आएका छौँ ।”

पहिला घोडा पनि धेरै पालिने र अहिले पाल्नै कम हुँदा पनि यार्तुङमा युवाको सहभागिता कम हुने गरेको उहाँले बताउनुभयो । सडक सञ्जालका कारण पनि घोडा पाल्न कम भएकाले यो पर्वलाई असर परेको उनको बुझाइ छ । 

यार्तुङ मनाङवासीको धार्मिक, सामाजिक र सांस्कृतिक धरोहर हो । वर्षायाम सकिन लाग्दा मनाइने भएकाले यस पर्वमा खेतीपाती, बालीनाली राम्रो होस् र रोगव्याध नलागोस् भन्ने कामनासहित पर्व मनाइने मनाङ ङिस्याङका पर्यटन व्यवसायी तथा समाजसेवी गुरूङले बताए । गुम्बामा पूजा गरी सुरु हुने यस पर्व गाउँ परिक्रमा गर्दै पुनः गुम्बामा पूजा गरी विसर्जन गर्ने चलन रहेको उनले जानकारी दिए । 

मनाङका विभिन्न भागमा छुट्टाछुट्टै रूपमा यार्तुङ मनाउने गरिन्छ । पछिल्लो समय तल्लो मनाङमा यार्तुङ हराउन थाले पनि माथिल्लो मनाङमा भने यो पर्व जीवितै छ । माथिल्लो मनाङका टङ्की, खाङ्सार, घ्यारू, ङावल, हुम्दे, भ्राका, पिसाङलगायतका स्थानमा हर्षोल्लासका साथ यो पर्व मनाउने गरिन्छ । –रासस

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १९:४५
प्रतिक्रिया दिनुहोस्