रूसको ओडेसा आक्रमणमा ६० हजार टन अन्न नष्ट : युक्रेन 

बुधबार, साउन ३, २०८०

कीभ– मस्कोले जानीजानी खाद्यान्न टर्मिनलमा आक्रमण गरेको आरोप कीभले बुधबार लगाएको छ ।

रूसले ओडेसा बन्दरगाह वरपर रातभर गरेको आक्रमणमा निर्यातका लागि राखिएको ६० हजार टन खाद्यान्न नष्ट गरेको कीभले दावी गरेको छ । 

रूसले युक्रेनको दक्षिणी ओडेसा क्षेत्रमा लगातार दुई रातसम्म क्षेप्यास्त्र प्रहार गरेको र कार्गो जहाजको सुरक्षित आवागमनका लागि अनुमति दिने खाद्यान्न सम्झौताबाट बाहिरिएपछि ‘ब्ल्याक सी’ को बन्दरगाहमा प्रहार गरेको हो । 

युक्रेनको कृषि मन्त्रालयले ओडेसाबाहिरको चोर्नोमोस्र्क बन्दरगाहमा ‘६० हजार टन खाद्यान्न पनि नष्ट गरिएको’ जनाएको छ । उक्त खाद्यान्न ‘६० दिनअघि खाद्यान्न करिडोरमार्फत पठाउन लागिएको’ बताइएको छ ।

“युक्रेनी व्यापारी र (युक्रेनी) कर्नेलहरू र क्यानेडाली भिटेरा र फ्रान्सेली सीएमए सीजीएम समूहजस्ता वाहकहरूको अनाज पूर्वाधारमा सबैभन्दा बढी असर परेको छ,” मन्त्रालयले भनेको छ । 

“विश्वको खाद्य सुरक्षा फेरि एकपटक खतरामा परेको छ,” विज्ञप्तिमा भनिएको छ । 

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसअघि रूसले ‘जानाजानी खाद्यान्न सम्झौताको पूर्वाधारलाई निशाना बनाइरहेको’ बताएका थिए । रूसले संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा भएको खाद्यान्न सम्झौतालाई विस्तार गर्न सोमबार अस्वीकार गरेको थियो ।

सम्झौताबाट बाहिरिएदेखि नै मस्कोले ‘ब्ल्याक सी’ हुँदै खाद्यान्न निर्यातको भविष्यमा ‘जोखिम’ निम्त्याउने चेतावनी दिँदै आएको छ । 

संयुक्त राष्ट्रसङ्घले विश्वका सबैभन्दा गरिब देशहरूले सम्झौताको पतनको ‘मूल्य चुकाउने’ चेतावनी दिएको छ र पश्चिमी देशहरूले मस्कोको बहिर्गमनको निन्दा गरेका छन् । 
 

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  २१:३०
प्रतिक्रिया दिनुहोस्