स्वास्थ्य/जीवनशैली

चुरोट, सुर्तीको लत छुटाउन अब वीर अस्पताल जाऔँ

चुरोट, खैनी, सुर्तीको कुलतमा फसेका लागि छुटाउनका लागि ‘निकोटिन रिप्लेसमेन्ट थेपारी’ सुरु
बिहीबार, जेठ १८, २०८०

काठमाडौँ– के तपाईँ चुरोट, सुर्ती खैनीलगायत सुर्तीजन्य पदार्थको लत छुटाउन चाहानुहुन्छ ? यही हो भने त वीर अस्पतालले चुरोट, खैनीको लत छुटाउनका लागि उपचार सेवा सञ्चालन गरेको छ । 

अस्पतालले विश्वभर नै विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसर पारेर ‘निकोटिन रिप्लेसमेन्ट थेरापी’ उपचार पद्धति सुरु गरेको छ । अस्पतालका निर्देशक डा सन्तोष पौडेलले चुरोट, खैनी, सुर्तीको कुलतमा फसेका लागि छुटाउनका लागि ‘निकोटिन रिप्लेसमेन्ट थेरापी’ सुरु गरिएको जानकारी दिए । 

थेरापीमा चुरोट सुर्ती खैनीको लतमा फसेकालाई छुटाउनका लागि निकोटिन चुइगम दिइन्छ र सोही चुइगमको सहयोगले लत छुटाउने उनले बताए । थेरापीमा चुरोट, खैनी र सुर्तीको सट्टा मानिसलाई निकोटिन चुइगम दिइन्छ । “मानिसले कति चुरोट सुर्ती सेवन गर्दछ । सोहीअनुसार मात्रामा निकोटिन चुइगम दिइन्छ”, उनले भने, “चुइगममा निकोटिन हुन्छ । मानिसलाई लत लगाउने काम निकोटिनले गर्दछ । सोही लत हटाउनका लागि मानिसलाई चुइगम दिइन्छ ।”

उनले चुरोट सुर्ती र खैनीमा निकोटिनबाहेकका तत्व हुन्छन् र ती तत्वले क्यान्सर रोग गराउने भन्दै तर निकोटिन मात्र भएको चुइगमले शारीरिक मानसिक असर गर्ने भए पनि क्यान्सर रोग नगराउने बताए । उनले मानिसमा इच्छाशक्ति भएपछि चिकित्सको परामर्शमा लत छुटाउने व्यक्तिलाई विस्तार निकोटिन चुइगमको माध्यमबाट लत छुटाउन सकिने बताए । 

“चुरोट, सुर्ती र खैनीको सट्टा चुइगम खान दिइन्छ । चुइगमले लत केही हदसम्म घटाउँछ । अनि विस्तारै ति मानिसलाई चुइगमको कारणले चुरोट, सुर्ती र खैनी खाऊ, खाऊ भन्ने बानी हराउँदै जान्छ”, उनले भने, “अनि  विस्तार मानिसको लत हटाउन सकिन्छ ।” अस्पतालले थेरापीमा दन्त विभाग, क्यान्सर विभाग र मेडिसिन विभागका चिकित्सकको समन्वयमा लत छुटाइने गरिन्छ ।

दन्त विभागमा सुर्ती खाएको थाहा हुने गर्दछ । क्यान्सर विभागमा बिरामीले चुरोट खाने गरेको थाहा हुन्छ । र मेडिसिन विभागमा चुरोटले गर्दा बिरामीलाई दम भएको हुन्छ । ती विभागले समन्वयमा अस्पतालले सुर्तीजन्य पदार्थको लत छुटाउन थालेको हो । विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ०ले अस्पताललाई सुर्तीजन्य पदार्थको लत हटाउनका लागि ४५ हजार निकोटिन चुइगम उपलब्ध गराएको छ । 

निकोटिन चुइगम चिकित्सकले दिइसकेपछि निश्चित अवधिपछि पुनः अस्पतालमा बोलाएर बिरामीको अवस्था हेरेर चुइमग खान फेरि दिइने उनले बताए । यसैगरी अस्पतालमा सुर्तीजन्य पदार्थ कति खाइरहेको छ त्यसको आधारमा पनि लत छुटाउनका लागि परामर्श सेवा पनि उपलब्ध गराइएको अस्पतालका निर्देशक डा पौडेलले जानकारी दिए ।

अस्पतालले क्यान्सर विभागमा परार्मशका लागि छुट्टै कोठाको व्यवस्था गरेको छ । नेपालमा हरेक वर्ष २७ हजारभन्दा बढी मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ । सुर्तीजन्य पदार्थ सेवन गर्दा श्वासप्रश्वाससम्बन्धी समस्या, मुटु रोग, क्यान्सर रोग, दीर्घ रोगलगायतका समस्या देखिने गर्दछ ।  

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् गरेको सर्वेक्षणमा नेपालमा २८ दशमलव ९ प्रतिशत मानिसले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने पाइएको छ । तीमध्ये ४८ दशमलव ३ प्रतिशत पुरुष र ११ दशमलव ६ प्रतिशत महिलाले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गर्दछन् ।  डब्लुएचओको सन् २०२२ को तथ्याङ्कअनुसार विश्वमा २२ दशमलव ३ प्रतिशत मानिस सुर्तीजन्य पदार्थ प्रयोग गर्दछन् । सुर्तीजन्य पदार्थको प्रयोग महिलाभन्दा पुरुषमा बढी हुने गरेको छ । महिलाको ७ दशमलव ८ प्रतिशत र पुरुषमा ३६ दशमलव ७ प्रतिशत रहेको छ । –रासस

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १८:३०
प्रतिक्रिया दिनुहोस्