प्रधानमन्त्री आज भारत जाँदै, यस्तो छ चार दिने भ्रमण तालिका

बुधबार, जेठ १७, २०८०

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चार दिने औपचारिक भ्रमणको सिलसिलामा भारततर्फ प्रस्थान गर्दैछन् ।

प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डल  दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत प्रस्थान गर्ने तालिका तय भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।  भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा प्रचण्ड आज भारत भ्रमणमा जान लागेका हुन् ।

'बुधबार दिउँसो १ बजे नेपाल एयरलाइन्सबाट जाने तय भएको छ,” सचिवालयले  भन्यो, भ्रमण टोलीमा ६० जनाभन्दा कम नै सहभागी हुने तयारी भएको छ ।'

भ्रमण टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री एनपी साउदसहित पाँच मन्त्री रहनेछन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् । भ्रमणको दोस्रो दिन प्रचण्डले भारतीय समकक्षीसँग जेठ १८ गते भेटवार्ता गर्नेछन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

वार्तापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् । भारतका प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् ।

प्रधानमन्त्रीले भारत भ्रमणमा तल्लो अरूण आयोजना निर्माणको सम्झौता गर्ने

प्रधानमन्त्री प्रचण्डले नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले संयुक्तरूपमा आयोजना गर्ने नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्नाका साथै दुवै देशका व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्डले भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले आयोजना गर्ने स्वागत समारोहमा सहभागी भई भारतमा रहेका नेपाली समुदायसँग पनि कुराकानी गर्नेछन् । उनले जेठ २० गते काठमाडौं फर्कनुअघि मध्यप्रदेशको उज्जैन र इन्दोरको पनि भ्रमण गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीका रूपमा प्रचण्डको यो चौथो भारत भ्रमण हो । यस भ्रमणले नेपाल र भारतबीचको सदियौँ पुरानो, बहुआयामिक र सौहार्द्रपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ । प्रचण्ड जेठ २० गते स्वदेश फर्किने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  ०६:३१
प्रतिक्रिया दिनुहोस्