गोरखाका किसानलाई दुहुनो भैँसी वितरण

सोमबार, जेठ १५, २०८०

गोरखा– जिल्लाको सहिद लखन गाउँपालिकाभित्रका किसानलाई अनुदानमा दुहुनो भैँसी वितरण गरिएको छ । गाउँपालिकाको वडा नं ७ स्थित बुङकोटका आठ  किसानलाई अनुदानमा पाडापाडीसहितको उन्नत जातको दुहुनो भैँसी वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष इन्दिरा तिवारीले जानकारी दिए ।

गाउँपालिकाले पालिकालाई मासु र दूधमा आत्मानिर्भर बनाउन जोड दिँदै आएकाले पशुपालक किसानलाई पशुपालनका लागि प्रोत्साहन गर्न ५० प्रतिशत अनुदानमा दुहुनो भैँसी वितरण गरेको उनको भनाइ छ । ‘गाउँपालिकाले ५० प्रतिशत अनुदान र किसानको ५० प्रतिशत लागत साझेदारीमा दुहुनो भैँसी वितरण गरिएको हो,झ् उपाध्यक्ष तिवारीले भने, ‘कार्यक्रमअन्तर्गत १२ जना किसान छनोटमा परेको भए पनि चार जनालाई भने वितरण गर्न बाँकी छ ।’

गाउँपालिकाको आर्थिक वर्ष २०७९-८० का लागि स्वीकृत पशुपालन भैँसी प्रवर्द्धन कार्यक्रमअन्तर्गत किसानलाई दुहुनो भैँसी वितरण गरिएको उनले बताए । किसानलाई उत्पादनसँग जोडदै आत्मनिर्भर बनाउने उद्देश्यका साथ दुहुनो भैँसी वितरण गरिएको उनको भनाइ छ ।

‘दुहुनो भैँसी वितरण गरेपछि पालिकामा दुग्ध उत्पादनसमेत वृद्धि हुने र कृषकलाई आर्थिक आयआर्जनमा आत्मनिर्भर बनाउनसमेत सहयोग पुग्छ,’ उनले भने, ‘यसबाट मासु उत्पादनमा समेत टेवा पुग्ने गाउँपालिकाको विश्वास छ ।’

उपाध्यक्ष तिवारीले किसानलाई उत्पादनसँग जोडेर आत्मनिर्भर बनाउँदै लैजाने गाउँपालिकाले नीति रहेकाले उत्पादनमुखी कार्यक्रम अघि सार्दै आएको बताए । अनुदानमा दुहुनो भैँसी पाएपछि किसानसमेत खुसी भएका छन् ।
 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  ०९:४१
प्रतिक्रिया दिनुहोस्