प्रधानमन्त्रीको भारत भ्रमण : सीमा र ऊर्जासहितका विषयमा कुरा हुने

आइतबार, जेठ १४, २०८०

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सानो टोलीसहित भारत भ्रमणमा जाने भएका छन्।

आइतवार बसेको मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले  सानो र छरितो टोली पठाउने तयारी भइरहेको जानकारी दिईन् ।

भारत भ्रमणमा जाने प्रतिनिधि मण्डल र एजेन्डाबारे भने सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले टुङ्गो लगाउने भएको छ ।

सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले दुवै विषयमा भोलि बस्ने मन्त्रिपरिषद् बैठकले टुङ्गो लगाउने जानकारी दिइन् ।

यही जेठ १७ गतेदेखि चार दिने भारत भ्रमणमा जान लागका प्रधानमन्त्रीसँग जानै पर्ने सानो टोली मात्रै रहने उनले बताईन् ।

‘भारत भ्रमणमा उठाउने विषयहरूबारे सम्बन्धित मन्त्रालयले तयारी गर्दैछन्। भ्रमण तयारी अन्तिम चरणमा पुगिसकेको छ’, उनले भनिन्, ‘भ्रमणका क्रममा ऊर्जाका विषयमा कुरा हुनेछ। त्यसैगरी हामीबीच रहेका सीमा समस्या छन्, यीबारे पनि कुरा हुनेछ। अन्य विषयमा पनि छलफल हुँदैछ, औपचारिक निर्णय गरेर चाँडै विषय तय गर्ने छौँ।’

मन्त्री शर्माले भारत भ्रमणका एजेन्डा र टोलीबारे सोमबार बस्ने मन्त्रिपरिषद्ले आवश्यक निर्णय लिने पनि जानकारी दिईन् ।
सम्झौता हुने विषयमा त्यही क्षेत्रका मन्त्री र सचिवहरु भारत जाने पनि उनले बताएकी  छन्। ‘सम्झौता हुने विषय र क्षेत्रमा त्यही क्षेत्रका मन्त्री वा सचिव जान सक्नुहुन्छ’, उनले भनिन्, ‘सकेसम्म सानो र छरितो टोली जानेछ। प्रतिनिधिमण्डल ठूलो नबनाउने कुरा भएको छ। जानैपर्ने मात्रै भारत जानुहुन्छ।’

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १३:२७
प्रतिक्रिया दिनुहोस्