अफगानिस्तान हेलिकप्टर दुर्घटना : २ विमान चालकको मृत्यु भएको पुष्टि

सोमबार, जेठ ८, २०८०

काबुल– अफगानिस्तानको उत्तरी सामङ्गन प्रान्तमा आइतबार भएको सैन्य हेलिकप्टर दुर्घटनामा दुई विमान चालकको मृत्यु भएको पुष्टि गरिएको छ । विमान दुर्घटनाग्रस्त भएकोबारे स्थानीय सञ्चारमाध्यम टोलो न्युजले यसअघि नै अधिकारीलाई उद्धृत गरी पुष्टि गरेको थियो । 

महाजिर नामका एक अधिकारीलाई उद्धृत गर्दै उक्त सञ्चारमाध्यमले दुर्घटना आइतबार दिउँसो खलम जिल्लाको सयद क्षेत्रमा भएको जानकारी दिएको छ । 

उक्त निजी सञ्चारमाध्यमका अनुसार महाजिरले दुर्घटनामा कोही हताहत भएको वा नभएको बताएका छैनन् । यसअघि, टोलो न्युजले अज्ञात स्रोतलाई उद्धृत गर्दै हेलिकप्टरका दुईजना पाइलटको मृत्यु भएको जनाएको थियो । विमान चालक दुबै जनाको मृत्यु भएको रक्षा मन्त्रालयले साँझ मात्रै पुष्टि गरेको हो । 

‘मजार–ए–शरिफ एयरफिल्डबाट सामंगनतर्फ उडेको देशको वायु सेनाको एमडी–५३० हेलिकप्टर बिजुलीको तारसँग ठोक्किएको र उक्त दुर्घटनामा दुई चालकको मृत्यु भएको छ,’ रक्षामन्त्रीले ट्वीटरमा लेखेका छन् ।
 

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  ०६:१३
प्रतिक्रिया दिनुहोस्