Nic Ad Nic Ad
Nic Ad Nic Ad

हुलाकी राजमार्गमा १० वर्ष पुराना पुलको निर्माण नयाँ ठेक्काबाट

शनिबार, जेठ ६, २०८०

काठमाडौँ– हुलाकी राजमार्गअन्तर्गतका एकदशक पुराना पुल नयाँ ठेक्कामार्फत निर्माण सम्पन्न गर्न लागिएका छन् । कमला, वाग्मतीलगायतका नदीमाथि बनेका पुल लामो समय अवरुद्ध रहेको पुल निर्माण नयाँ ठेक्कामार्फत अघि बढाइरहेको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ । 

हुलाकी राजमार्ग आयोजना पहिले हुलाकी पुल योजना हुँदादेखि झण्डै एक दशकदेखि कतिपय पुल अलपत्र रहेका छन् । समस्याग्रस्त पुलमध्ये कमला पुल नयाँ ठेक्काबाट बनाउन लागिएको निर्देशनालयका प्रमुख चूणाराज ढकालले जानकारी दिए ।

धनुषा र सिरहा जिल्ला जोड्ने गरी बनाइएको पुल निर्माण सम्पन्न नहुँदै भासिएको थियो । यसलाई नयाँ ठेक्कामार्फत निर्माण गरिने उनले बताए । रौतहट र सर्लाही जोड्ने वाग्मती पुल निर्माणको जिम्मेवारी पप्पु कन्स्ट्रक्सनलाई दिइएको भए पनि लामो समयसम्म अलपत्र रहेको थियो । उनले भने, ‘अहिले सो पुल नयाँ ठेक्कामार्फत अघि बढाइरहेको छ ।’

समस्याग्रस्त पुलमध्ये कतिपय पुलमा पुरानो ठेक्का अन्त्य गरिसकिएको र नयाँ ठेक्कामा जाने तयारी भइरहेको बताइएको छ । पप्पु र रमण जेभीले जिम्मेवारी लिएको नारायणी नदीको पुल निर्माण विसं २०६९ मा सुरु भएको थियो । पुरानो ठेक्का अन्त्य भएपनि नयाँ ठेक्कामार्फत निर्माण अघि नबढेको प्रमुख ढकालले बताए । सरकारले झापाको कन्काईमा विसं २०६८ मा पुल निर्माण सुरु गरेको थियो । पप्पु महादेव जेभीले पुल निर्माण नगरेपछि आयोजनाले ठेक्का तोडेको उनले जानकारी दिए । 

कन्काई, कमला र वाग्मती, नारायणीलगायतका ठूला नदीमा पुल निर्माण सुरु भएको दशकौँ बित्दासमेत सम्पन्न हुन नसकेको हो । यी पुराना ठेक्कामध्ये कतिपयमा कोभिडका कारण असर पुगेको र कुनैमा संयुक्त ठेक्कामा एउटाले छाडेर अर्कोले लिएको र कुनै कालोसूचीमा राखिएका कारण निर्माण अघि बढ्न नसकेकाले लामो समयदेखि अलपत्र रहेको प्रमुख ढकालले बताए । 

राष्ट्रिय गौरवको हुलाकी राजमार्गमा हालसम्मको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ । एक हजार आठ सय ५७ किमीमध्ये अहिलेसम्म नौ सय ५७ किमी कालोपत्र सकिएको छ । 

खासगरी वन क्षेत्र र केही समस्या रहेको क्षेत्रमा सडक बनाउन र लामो समयदेखि अलपत्र पुल सम्पन्न हुन बाँकी रहेको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ । अहिले अन्योल भएका ठाउँमाबाहेक अरुतिरको सडक कतै निर्माण भइसकेको छ भने कतै निर्माण भइरहेको छ । पूर्वबाट पश्चिमसम्म कतिपय खण्डमा सडक सम्पन्न भइसकेर पनि पुल बनिनसकेकाले सडकसमेत प्रयोगमा आउन सकिरहेको छैन । 
 

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  ०६:३३
प्रतिक्रिया दिनुहोस्