राप्रपाको अवरोधपछि संसद् बैठक स्थगित

बुधबार, वैशाख २७, २०८०

काठमाडौं– भ्रष्टाचारका विषयमा बोल्नु पर्ने माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले नाराबाजी गरेपछि संसद बैठक स्थगित भएको छ । 

बुधबार बैठक सुरु हुने बित्तिकै राप्रपाका सांसदहरूले उठेर भ्रष्टाचारका विषयमा बोल्न माग गरेका थिए ।

सभामुख घिमिरेले बोल्नका लागि शून्य समय र बजेटको तयारीबारे मात्र बोल्ने कार्यसूची तय गरेको र बैठक सञ्चालन गर्न दिन आग्रह गरेका थिए ।

बुधबारको संसद बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी बजेटका विषयमा जवाफ दिने कार्यसूची छ ।

उनीहरुले देशमा भइरहेको भ्रष्टाचारका विषयमा बोल्न पाउनु पर्ने माग राखेका थिए । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहितका सांसदहरूले बैठकमा अवरोध सिर्जना गरेका थिए ।

तर राप्रपाका सांसदहरूले विरोध जनाउँदै नाराबाजीमा उत्रिए पछि  सभामुखले १५ मिनेटका लागि संसद स्थगित गराएका हुन् ।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  ११:५२
प्रतिक्रिया दिनुहोस्