ठूला भवन र चौडा सडक नै विकासको मोडेल होइन : सिके राउत

मंगलबार, वैशाख २६, २०८०

काठमाडौं–जनमत पार्टीका अध्यक्ष सीके राउतले नेपालमा विकासको गलत मोडेल अभ्यास भइरहेको बताएका छन् । सरकारले प्रस्तुत गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि भइरहेको छलफलमा बोल्दै राउतले सरकार ठूल्ठूला भवन, चौडा सडक, विमानस्थललाई विकासको मानक मान्नु गलत रहेको बताए ।

एयरट्राफिक नै नपुग्ने विमानस्थल निर्माण गरे पनि तलब नपाएर प्रहरीहरू रुनु परेको उनको भनाइ छ । ‘हामीले एयर ट्राफिक नै नपुग्ने विमानस्थल बनाइरहेका छौं । तर प्रहरीले तलब नपाएर रुनु परेको छ । स्वास्थ्य सेवा दिन पाइरहेका छैनौं तर डाँडाडाँडामा भ्युटावर बनाइरहेका छौं । सडकमा प्रतिघन्टा सय वटा गाडी गुड्दैन । तर प्रत्येक सडक चार लेन र छ लेन बनाउनुपर्छ भनेर लहैलहैमा लागेका छौं,’ उनले भने ।

विकास भनेकै ठूला भवन, फराकिला सडक र विमानस्थल भनेर बुझिदिँदा अर्थतन्त्रको यो हविगत भएको उनको भनाइ छ । उनले विवाहमा दुल्हादुल्हीको मन हेर्नुपर्नेमा हामी भोजभतेरतिर लागेको उदाहरण दिए । ‘दुल्हादुल्हीको मन मिल्यो कि मिलेन हेर्नुपर्नेमा हामीले ठूलो तामझाम गर्छौं । ऋणै काढेर सुन किन्छौं । भोजभतेर गर्छौं । हाम्रो अर्थतन्त्र पनि त्यही भएको हो,’ उनले भने ।

उनले अर्थमन्त्रीलाई आगामी बजेट मानव केन्द्रित बनाउन आग्रह गरे । ‘आगामी बजेटले कोही पनि भोकै नहोस् । कोही पनि स्वास्थ्य सेवाबाट वञ्जित नहोस् । कोही पनि सामाजिक सुरक्षाबाट वञ्चित हुन नपरोस्,’ उनले भने ।

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १५:४३
प्रतिक्रिया दिनुहोस्