नेपालगन्जमा ‘नो पार्किंङ’ मै ‘पार्किंङ’

आइतबार, वैशाख १७, २०८०

नेपालगन्ज–पुष्पलाल चोक, धम्बोजी र ट्राफिक पोष्ट अगाडिको ‘नो पार्किंङ’ ‘पार्किंङ’ जस्तै देखिन थालेका छन् । 

जथाभावी रुपमा भएका पार्किङ्ले नगरको सौन्दर्य विगाुर्नका साथै जथाभावी सडकको लेन क्रस गरेर हिँडिरहँदासमेत प्रहरीले कारबाही गर्न नसकेको ट्राफिक प्रहरीले जनाएको छ । ‘नो पार्किंङ’ भनेर राखिएको साइनबोर्डलाई वरिपरीबाट घेरेर दुईपाङ्ग्रे सवारी साधन (मोटरसाइकल) पार्किंङ गर्दा पनि प्रहरीले ध्यान दिएको पाइदैन । यतिमात्र होइन जेब्रा क्रसिङमा समेत सवारी साधन रोकिरहेको अवस्थामा पनि ड्युटीमा खटिएका प्रहरी निरीह देखिएको स्थानीयले बताएका छन् । 

ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक तिलक सुनारले सवारी साधनको चाप बढी भएको र ट्राफिक जनशक्ति कम भएकाले व्यवस्थापन गर्न गाह्रो भएको जानकारी दिए । ‘बाँकेमा ट्राफिक नियमको व्यवस्थापन उचित रुपले हुन नसक्नुमा सवारी साधनको चाप बढी र ट्राफिक प्रहरीको सङ्ख्या कम भएर हो’, उनले भने ।

नेपालगन्ज भारतसँग सीमा जोडिएको सहर हो । यहाँ प्राय अटो चालक भारतीय नागरिक रहेको बताइएको छ । उनीहरुलाई ट्राफिक प्रहरीको नियमबारे जानकारी नहँुदा समस्या आएको ट्राफिक प्रहरी नायब निरीक्षक पौडेल बताए । उनका अनुसार ट्राफिक नियमको उल्घङ्न अटो चालकबाट हुने गरेको छ ।  

उनले सवारीसाधान चालक अनुमतिपत्रसमेत नभएको फेला परेपछि प्रहरीले कारबाही गर्ने क्रममा उनीहरुका मालिकबाट दबाबपूर्ण फोन आउने भएकाले पनि ट्राफिक नियम व्यवस्थित हुन नसकेको प्रहरी नायब निरीक्षक पौडलको भनाइ छ । जिल्लामा पक्की र कच्ची गरी छ सय १० किलोमिटर सडक छ । एउटा ट्राफिकलाई नौ किलोमिटरसम्मको क्षेत्र हेर्नुपर्ने बाध्यात्मक अवस्था छ । समग्र जिल्लाको ट्राफिक व्यवस्थापनका लागि सबै निकायको समन्वयमा विशेष रणनीतिका साथ कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा प्रहरीले जोड दिएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १७:२८
प्रतिक्रिया दिनुहोस्