वैशाख १ देखि विराटनगरमा गुट्खा, खैनी र चुरोट निषेध

मंगलबार, चैत २८, २०७९

विराटनगर –विराटनगर महानगरपालिकाले आउँदो वैशाख १ गतेदेखि सार्वजनिक स्थलमा धुमपान, खैनी, चुरोट, पानपराग, गुट्खालगायत सेवन गर्न निषेध गर्ने भएको छ ।

पुस २७ गते बसेको नगरसभाको निर्णयानुसार महानगर क्षेत्रभित्र धुमपानदेखि प्रेसर हर्न बजाउन निषेध (नो हर्न) गर्न लागिएको महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिए । ध्वनि प्रदूषण नियन्त्रण गर्ने महानगरको योजनाअन्तर्गत सवारी साधनको प्रेसर हर्न बजाउन निषेध गर्न लागिएको उनको भनाइ छ । 

केही हप्ताअघि महानगरले धार्मिक संघसंस्था, साउन्ड सिस्टम प्रतिनिधिलगायतलाई बोलाएर ध्वनि प्रदूषण नियन्त्रण एवं धुमपान र गुट्खा, खैनी खाएर सहर फोहोर गर्ने गरेका विषयमा छलफल गरेको थियो । 

विराटनगर कोसी प्रदेशको राजधानीसँगै प्रदेशको एकमात्रै महानगरपालिका भएकाले यसलाई व्यवस्थित र सभ्य बनाउने दायित्व सबैको भएको प्रमुख कोइरालाले बारम्बार दोहो¥याउँदै आएका छन् । उनले महानगरले सरसफाइ, फुटपाथ नियन्त्रण, सडकलाई  पार्किङ निषेध, कर संकलनलगायत अभियान सञ्चालन गरिरहेको सुनाए । 

पार्किङस्थललाई व्यवस्थित बनाउने कार्य भइरहेकाले केही दिनभित्रै विगतको निर्णय प्रभावकारी रुपमा कार्यान्वयन गरिने प्रमुख कोइरालाको भनाइ छ । 

उनले महानगर क्षेत्रभित्र प्रेसर हर्न नबजाइदिन सरोकारवालालाई आग्रह पनि गरेका छन् । ‘विराटनगर हामी सबैको हो, यसलाई हामी सबै मिलेर व्यवस्थित र सभ्य सहरका रुपमा स्थापित गर्नुपर्छ’, प्रमुख कोइरालाले भने, ‘सहरको सुन्दरता र सभ्यतासित ध्वनि प्रदूषण पनि जोडिएको हुन्छ । महानगरले अघि सारेको अभियानमा सबैको साथ रहने मैले विश्वास लिएको छु ।’
 

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  १०:२९
प्रतिक्रिया दिनुहोस्