महासंघ र प्रतिष्ठानबीच उद्योग विकासका लागि उत्पादकत्व बढाउन सम्झौता

आइतबार, चैत १९, २०७९

काठमाडौँ– नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल विकास अनुसन्धान प्रतिष्ठानबीच उद्योग विकासका लागि इकोसिष्टमको विकास गरी उद्योगको उत्पादकत्व बढाउने सम्बन्धी सम्झौता भएको छ । 

आइतबार काठमाडौँमा आयोजित एक समारोहका बीच दुबै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 

उत्पादनमूलक, कृषि र सेवा क्षेत्रका उद्यमीको इकोसिस्टम विकास गरी उत्पादकत्व बृद्धि गर्ने क्रममा इन्टरभेन्सनको रुपमा हाललाई कुनै निश्चित भौगोलिक क्षेत्रमा रहेका उद्योगहरु बीचको इकोसिस्टम विकास गर्न पहल गर्ने सम्झौता भएको हो ।

प्रत्येक प्रदेशबाट उत्पादनमूलक, कृषि र सेवा तीन क्षेत्रका २–२ वटा कम्पनीको छनौट गरी ७ वटा प्रदेशका ४२ वटा कम्पनीको इकोसिस्टम विकास गर्न कार्य गरिने सो अवसरमा बताइएको छ । उत्पादनमूलक, कृषिजन्य र सेवा उद्योगमा संलग्न कम्पनीहरुको इकोसिस्टम विकास गरी सफल उद्यम बनाउने पाइलट परियोजना सञ्चालन गर्ने सम्झौताको उद्देश्य रहेको महासंघका निवर्तमान अध्यक्ष श्यामप्रसाद गिरीले बताए ।

महासंघ र प्रतिष्ठान मिलेर देशमा औद्योगिक सम्बन्ध र उद्यमशीलता प्रर्वद्धन गर्न पहल गरी औद्योगिक वातावरण प्रर्वद्धन गर्न नीति अनुसन्धानमा कार्य गर्ने सम्झौता पत्रमा उल्लेख छ । 

यस्तै औद्योगिक सम्बन्ध विकासका लागि व्यवसायिहरुको इकोसिस्टम विकास गर्ने क्षेत्रमा सहकार्य गर्ने प्रतिष्ठानका अध्यक्ष डा. नवराज खतिवडाले बताए ।

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  १७:३९
प्रतिक्रिया दिनुहोस्