६ दशकपछि विस्तार हुँदै भरतपुर विमानस्थल

शुक्रबार, चैत १७, २०७९

चितवन ः करिब ६ दशकपछि भरतपुर विमानस्थलको विस्तार हुने भएको छ । भरतपुर महानगरपालिकाले नगरभित्रको गौरवको आयोजनाको रूपमा लिएको विमानस्थलको स्तरोन्नति र विस्तार गर्न लागिएको हो । 

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालका अनुसार तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी हुँदा सुरु गरिएको पहल अहिलेसम्म आइपुग्दा काम अघि बढ्ने अवस्थामा पुगेको छ । ‘यो ५ वर्षको अवधिमा हामीले ६ जना पर्यटन मन्त्रीसँग नियमित छलफल ग¥यौँ’, उनले भनिन्, ‘महानगर, प्राधिकरण, मन्त्रालय हुँदै प्रधानमन्त्रीको निजी निवास र कार्यालयमा धेरै पटक छलफल भएको छ ।’

विमानस्थलको धावनमार्ग विस्तारका लागि घोडा प्रजनन केन्द्रलाई गणेशस्थान र नेपाली सेनाको कालीबहादुर गणलाई दियालो बङ्गला सारिने भएको छ । ब्यारेक सार्ने निर्णय भइसकेकाले घोडा प्रजनन केन्द्र सार्न वनको जग्गा भएकाले केही निर्णय बाँकी रहेको दाहालले बताइन् । बाँकी निर्णय २ साताभित्रमा गरेर काम अघि बढ्ने उनको भनाइ छ ।

केही दिनअघि विस्तारका लागि प्रधानमन्त्रीको निवास बालुवाटार र कार्यालय सिंहदरबारमा नेपाली सेनासहितको सरोकारवाला बसेर टुङ्गोमा पुगेको दाहालले जानकारी दिइन् । यो विमानस्थलबाट मकवानपुरदेखि दाउन्नेसम्मका बासिन्दाले हवाई सेवा लिँदै आएका छन् । त्यस्तै तनहुँ र गोरखा आसपासका बासिन्दाले पनि यो विमानस्थलबाट सेवा लिँदै आएका छन् ।

२०१५ सालदेखि  सञ्चालनमा आएको विमानस्थलमा १२ मङ्सिर २०१८ मा हवाई कार्यालय स्थापना गरिएको थियो । तत्कालीन समयमा टुइनेटरजस्ता १८ सिटे जहाजमात्रै सञ्चालन हुँदै आएकामा पछिल्ला वर्षमा एटिआर ४२, जेटस्टिम बिचक्राफ्टजस्ता मझौला र आधुनिक जहाजको उडान हुँदै आएको छ ।

१ हजार २०० मिटरमात्र धावनमार्ग भएको तथा उडान र अवतरण क्षेत्रमा भौतिक संरचनाका कारण यो विमानस्थल जोखिमपूर्ण मानिएको छ । धावनमार्गलाई १ हजार ५०० मिटर लामो बनाएर एटिआर ७२ वा सोसरहका ७२ सिटे जहाजले उडान गर्न मिल्ने गरी विस्तार गर्न लागिएको हो । यससँगै आधुनिक टर्मिनल भवन बनाइँदै छ । १ अर्ब ९२ करोड रुपैयाँ लागतमा निर्माण गर्न लागिएको अत्याधुनिक टर्मिनल भवनको बिहीबार प्रधानमन्त्री दाहालले शिलान्यास गरेका छन् । 

छोटो धावनमार्ग, उडान र अवतरण क्षेत्र अतिक्रमण तथा उच्च जोखिमसँगै महँगो हवाई भाडा तिर्न यहाँका बासिन्दा बाध्य छन् । हाल यहाँबाट काठमाडौँ र पोखरा बुद्ध एयरले उडान भर्दै आएको छ । दैनिक ८ उडान हुँदै आएको छ । 

कोभिड–१९ अघिसम्म यो संख्या १२ रहेको विमानस्थलले जनाएको छ । दैनिक ७ सयभन्दा बढी यात्रुले सेवा लिँदै आएका छन् ।

सन् १९५८ मा निर्माण कार्य सम्पन्न भई पहिलो उडान ५ मार्च १९६१ मा भएको तथ्यांक छ । सन् १९९४ मा १ हजार १५८ मिटर धावनमार्ग बनाइएको यो विमानस्थलको सन् १९९८ मा एसियाली विकास बैंकको सहयोगमा कालोपत्र सम्पन्न भएको नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक प्रदीप अधिकारीले जानकारी दिए ।

देशको मध्य भागमा पर्ने भएकाले सन् १९८८ मा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने उद्देश्यले अध्ययन गरिए पनि वातावरणीय र पर्यावरणीय दृष्टिकोणले क्षति हुनसक्ने भएपछि काम अघि बढ्न सकेको थिएन । विमानस्थल ५८ बिघामा फैलिएको छ । सन् १९५८ मा संयुक्त राज्य अमेरिकाको सहयोगमा मलेरिया नियन्त्रण कार्यक्रमअन्तर्गत यो विमानस्थल निर्माण गरिएको हो । अहिले विमानस्थल १० घण्टाको हाराहारीमा मात्र सञ्चालन हुँदै आएको छ । विस्तारसँगै रात्रिकालीन उडानसमेत गरिने छ ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १७:३७
प्रतिक्रिया दिनुहोस्