अब ४ लेनको हुँदै कमला–ढल्केबर–पथलैया सडक, डिपिआर बनाउँदै इटालियन कम्पनी

एक वर्षभित्र ठेक्का लगाइने, विश्व बैंकले लगानी गर्ने
शनिबार, चैत ११, २०७९

काठमाडौं– प्रस्तावित कमला–ढल्केबर–पथलैया सडकखण्ड ४ लेनमा विस्तार हुने भएको छ । अहिले उक्त सडक खण्ड विस्तारका लागि सर्भे, डिजाइन र पूर्वतयारीका काम धमाधम अघि बढेको आयोजनाले जनाएको छ ।

इटालियन कम्पनीले सो सडकखण्डको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) निर्माण गरिरहेको सडक विभागअन्र्तगत विकास सहायता कार्यान्वयन महाशाखाका उपमहानिर्देशक डा. विजय जैसीले सिएन नेपाललाई जानकारी दिए । 

उनका अनुसार, दुई लेनको उक्त सडकलाई ४ लेनमा विस्तार गर्ने योजनाबमोजिम अहिले अध्ययन, डिजाइन र पूर्वतयारीका काम अघि बढाइएको छ । 

सो सडकखण्ड ४ लेनमा विस्तार गर्न विश्व बैंकको ऋण लगानी रहने छ । कुल १२० किलोमिटर लामो सडक खण्डको डिपिआर इटालियन कम्पनीले गरिरहेको छ । अन्र्तराष्ट्रिय परामर्शदाताका रूपमा इटालियन कम्पनी इप्टिसाले डिपिआर अध्ययनको काम गरिरहेको छ । 

डिपिआर निर्माण र पूर्वतयारीका काम सकेर एक वर्षभित्र सो सडक निर्माणका लागि ठेक्का लगाइने उपमहानिर्देशक जैसीले बताए । ‘अहिले सर्भे, डिजाइन र पूर्व तयारीका काम अघि बढाइरहेका छौं । कम्तीमा एक वर्षभित्र सम्पूर्ण अध्ययन सकाएर ठेक्का व्यवस्थापन गर्ने हाम्रो लक्ष्य छ’ उनले भने, ‘यसमा विश्व बैंकको ऋण सहयोग रहनेछ ।’

बजेटको स्रोत सुनिश्चितता र डिपिआर निर्माण भएमा एक वर्षभित्र नै उक्त सडक आयोजना ठेक्का प्रक्रियामा लैजाने तयारी छ । सडक चक्ल्याउने, जाली हाल्ने, पर्खाल निर्माणलगायतका काम भइरहेको छ । सडक चक्ल्याउने, जाली हाल्ने, पर्खाल निर्माणलगायतका काम भइरहेको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत  पर्ने उक्त सडक विस्तार गर्न विश्व बैंक र नेपाल सरकारको प्रत्यक्ष लगानी रहनेछ । ४ लेनमा विस्तार हुने सडकमा सर्भिस लेन, अण्डर पास र ओभर पास निर्माणलगायतका संरचना बनाइने छ । सडकसँगै पुल निर्माणका लागिसमेत डिजाइन भइरहेको छ । झन्डै ७५ वटा पुल सो सडकखण्डमा निर्माण हुनेछन् । 

यता, बागमती, बकैया र कमला खोलामा गरी तीन स्थानमा ‘सिग्नेचर पुल’ निर्माण गरिने प्रारम्भिक अध्ययनले देखाएको छ ।  कुल ६५ अर्ब लागत लाग्ने अनुमान गरिएको आयोजनामा ४ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । यद्यपि, आयोजनाको डिपिआर आएपछि समय र लागत यकिन हुने आयोजना पक्षले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  ०८:०९
प्रतिक्रिया दिनुहोस्