व्यावसायिक बन्दै जलवायु अनुकूलित गाउँका किसान 

शनिबार, चैत ११, २०७९

मंगलबारे– चैत महिनाको सुक्खायाममा समेत इलामको नामसालिङका किसानको बारीमा हरियाली छ । खेतबारीमा तरकारी र टनेलमा विभिन्न बाली लगाएर आम्दानीसमेत बढेको छ । मौसममा अकबरेको उत्पादन, टमाटर, खुर्सानीका बिरुवा उत्पादन गरी बिक्री गरेको किसानको भनाइ छ ।

इलामको माइजोगमाई गाउँपालिकाको नामसालिङ गाउँका किसान तरकारीसहितका खेतीमा व्यावसायिक बन्न थालेका छन् । जलवायु अनुकूलन गाउँ बनाउने किसानको प्रयासमा नोरेक नर्वेको सहयोगमा नामसालिङ सामुदायिक विकास केन्द्रले कृषकलाई सहयोग गर्दै आएको छ ।

विगत वर्षहरुमा भन्दा यस वर्ष आफ्नो उत्पादनसमेत वृद्धि भएको किसान मुकेश सञ्जेलले बताए । गएका वर्षमा भन्दा यस वर्ष उत्पादन र आम्दानी बढेको उनको भनाइ छ । किसानको उत्साहमा यहाँ सञ्चालित जलवायु अनुकूलन गाउँ उन्मुख योजनाले थप सहयोग गरेको छ । किसानलाई विभिन्न कृषि सामग्री अनुदान र कृषि सहकारीका सदस्यलाई गोठ सुधार र प्राङ्गारिक मल बनाउन सहयोग पुगेको संस्थाको दाबी छ । 

जलवायु अनुकूलित खेती प्रणाली प्रवद्र्धन गर्न तालिम र नवीकणीय ऊर्जा, प्रवद्र्धन गरिएको छ । गाइखुरे सहकारी संस्थाका सदस्यलाई सिँचाइका लागि स्प्रिङकल, गोठ सुधारका लागि चाहिने सामाग्री, टनेल खेतीमा चाहिने प्लाष्टिक र नेट वितरण गरिएको छ । प्लाष्टिक पोखरी निर्माण र टनेलमा तरकारी खेतीमा किसान अग्रसर भएका छन् । 

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  ०७:३१
प्रतिक्रिया दिनुहोस्