उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित

शुक्रबार, चैत ३, २०७९

काठमाडौं –तेस्रो उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित बनेका छन् । उनले ३० हजार ३२८ मतभार प्राप्त गरेर उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । 

उनले १८४ संघीय सांसद र ३२९ प्रदेशसभा सदस्यको मत प्राप्त गरेका छन् । नेकपा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले १६ हजार ३२८ मतभार प्राप्त गरिन् । उनलाई १०४ संघीय सांसद र १६९ प्रदेश सांसदले मतदान गरेका हुन् । 

यस्तै, जनमत पार्टीकी ममता झाले २ हजार ५३७ मत प्राप्त गरिन् । उनलाई १५ जना प्रदेशसभा सदस्य र २३ जना संघीय सांसदले मतदान गरे । 

उम्मेदवारी फिर्ता लिएकी जसपाकै सांसद प्रमिलाकुमारीको पक्षमा पनि सांसदले मत दिएका छन्। उनको पक्षमा प्रदेशतर्फ ३ जनाले मत दिएका हुन् । 

मतदानमा ३११ सङ्घीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए । बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चलेको थियो ।
उपराष्ट्रपतिमा निर्वाचित यादव बारा-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत हुन् । उनी जसपाका संसदीय दलका नेतासमेत हुन् । विक्रम संवत २०२७ सालमा बाराको कलैयामा जन्मिएका यादवले बीएस्सी, बीएडसम्मको अध्ययन गरेका छन् । शिक्षण पेसा त्यागेर उनले २०४६ सालपछि नेपाल सद्भावना पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १६:४४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार