निर्माण सुरु भएको ४ वर्षपछि नारायणगढ–बुटवल सडक कालोपत्र हुँदै

बिहीबार, चैत २, २०७९

काठमाडौँ– नारायणगढ–बुटवल सडक विस्तार सुरु भएको ४ वर्षपछि कालोपत्र सुरु गरिएको छ । यस सडकको पूर्वी खण्ड पर्ने कावासोती क्षेत्रमा कालोपत्र गर्न सुरु गरिएको आयोजनाले जनाएको छ । कावासोती र लोकहाबीचको वन क्षेत्रमा पर्ने सडकको कालोपत्र सुरु भएको हो । 

हालसम्म यस क्षेत्रमा सडकको ५०० मिटर खण्डमा कालोपत्र गरि सकिएको आयोजनाका प्रबन्धक राकेश झाले जानकारी दिए ।

पूर्व–पश्चिम जोड्ने नारायणगढ–बुटवल सडकखण्डको निर्माण २२ चैत २०१९ मा सुरु गरिएको थियो । यसअघि पूर्वमा हर्कपुर र पश्चिम खण्डको भूमहीमा परीक्षण कालोपत्र गरिएको थियो । प्रवन्धक झाले कावासोतीदेखि लोकाहासम्मको ४ किलोमिटर सडक १ साताभित्र कालोपत्र गरिने जानकारी दिए ।

उनका अनुसार राजमार्गको उत्तरतर्फको साढे ७ मिटर चौडा सडक पहिलो चरणमा कालोपत्र गरिएको थियो । फागुन मसान्तसम्म सडक चौडा गर्ने आयोजनाको प्रगति २६ प्रतिशत मात्रै भएको आयोजनाले जनाएको छ । चिनियाँ कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेशनले १६ अर्ब ९९ करोड ५० लाख रुपैयाँभन्दा बढीको लागतमा आयोजना कार्यान्वयन गरिरहेको छ ।

गैँडाकोटस्थित नारायणी नदीको पुलदेखि बुटवलसम्मको ११५ किलोमिटर सडक विस्तारका लागि एसियाली विकास बैंकले आयोजनाको अनुमानित बजेटको ८५ प्रतिशत ऋण सहयोगमा उपलब्ध गराएको छ । डिजाइनअनुसार बस्ती क्षेत्रमा ६ लेन, वन क्षेत्रमा ४ लेन र दाउने क्षेत्रमा ३ लेन हुनेछन् ।

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १३:२८
प्रतिक्रिया दिनुहोस्