च्याम्पियन्स लिगको अन्तिम ८ समीकरण पूरा, इटालियन क्लब हाबी

बिहीबार, चैत २, २०७९

काठमाडौँ– यससँगै च्याम्पियन्स लिगको अन्तिम ८ समीकरण पूरा भएको छ । धेरैपछि योपटक इटालियन क्लब हाबी भएका छन् । 

इटालीका तीन टोली क्वार्टरफाइनलमा पुग्न सफल भएका छन् । जसमा ७ पटकको विजता एसी मिलान, तीन पटकको विजेता इन्टर मिलान र नापोली छन् ।

नापोलीले पहिलोपटक अन्तिम ८ मा स्थान बनाएको हो । 

यसअघि, सन् २००६ मा इटालीका तीन टोली अन्तिम ८ मा पुगेका थिए । २००५–०६ को सिजनमा इन्टर मिलान, एसी मिलान र युभेन्ट्स क्वाटरफाइनलमा पुगेका थिए । युभेन्ट्स दुई पटकको विजेता हो ।

त्यसयता इटालीका क्लबहरूको बाहुल्यता कम हुँदै गएको थियो । २०२२–२३ को जारी सिजनमा इटालियन क्लबले छलाङ मार्दा इंग्लिस र स्पेनिस क्लबको संख्या घटेको छ । 

दुईवटा मात्र इंग्लिस क्लब क्वार्टरफाइनलमा पुगेका छन् । जसमा चेल्सी र म्यानचेस्टर सिटी छन् । चेल्सी दुई पटकको विजेता हो ।

यस्तै, एउटा स्पेनिस क्लब रियल म्याड्रिड मात्र अन्तिम ८ मा पुगेको छ । रियल साविक विजेतासँगै सर्वाधिक १४ पटकको पनि विजेता हो ।

यसैगरी, एक–एकवटा जर्मन र पोर्चुगिज क्लबले अन्तिम ८ मा स्थान बनाएका छन् । जर्मन क्लब बायर्न म्युनिख र पोर्चुगिज क्लब बेन्फिकाले क्वार्टरफाइनलको टिकट काटेका हुन् ।

बायर्न ६ पटकको विजेता हो भने बेन्फिकाले दुईपटक जितेको छ ।

योपटक अन्तिम ८ मा कुनै पनि फ्रेन्च क्लबले स्थान बनाउन सकेनन् ।

क्वार्टरफाइनल ‘ड्र’ युइएफए मुख्यालय स्विट्जरल्यान्डको नियोनमा शुक्रबार हुँदैछ ।

champions legue1678953699.JPG

 
 

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  ०७:२८
प्रतिक्रिया दिनुहोस्