नापोली पहिलोपटक च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

बिहीबार, चैत २, २०७९

काठमाडौँ– इटालियन क्लब नापोलीे इतिहासमै पहिलोपटक युइएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको  क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

जर्मन प्रतिद्धन्द्धी आइनट्राच्ट फ्रान्कफर्टलाई दोस्रो लेगमा ३–० ले तथा समग्रमा ५–० को जितसहित नापोली क्लब फुटबलमा सबैभन्दा प्रतिष्ठित मानिने च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पहिलोपटक पुग्न सफल भएको हो ।

पहिलो लेगमा नापोली २–० ले विजयी भएको थियो । घरेलु मैदान डिएगो अर्मान्डो म्याराडोना रंगशालामा गएराति भएको खेलमा नापोलीको जितमा भिक्टर ओसिमहेनले दुई तथा पिओटर जिलेन्स्कीले एक गोल गरेका थिए ।

नापोली इटालियन सिरी ‘ए’ को पनि शीर्ष स्थानमा छ । गएराति नै भएको अर्को खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले इंग्लिस क्लब लिभरपुललाई १–० ले हराउँदै क्वार्टरफाइनलमा पुगेको छ ।

यससँगै च्याम्पियन्स लिगको अन्तिम ८ समीकरण पूरा भएको छ । 


 

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  ०७:०७
प्रतिक्रिया दिनुहोस्