कति छ अफगानी सेनाको संख्या ?

बिहीबार, चैत २, २०७९

काबुल– अफगानिस्तानको सेनाको सङ्ख्या एक लाख पचास हजार पुगेको छ ।  स्थानीय टिभी च्यानल टोलोन्युजले बुधबार रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह खावराज्मीलाई उद्धृत गर्दै जनाएअनुसार देशमा एक लाख ५० हजार जनाको व्यावसायिक एवम् सुदृढ फौज बनाइएको छ । 

प्रवक्ता खावराज्मीले एक लाख ५० हजारको सबल फौज राष्ट्रको सुरक्षा सुनिश्चित गर्न तथा सीमा रक्षा गर्न सक्षम रहेको बताएका छन् । विगतको शासनकालका कर्मचारी पनि राष्ट्रिय सेनाको दर्जामा रहेका उनले बताए  । प्रवक्ता  खावराज्मीका अनुसार अफगानिस्तानको कामचलाउ सरकारले आफ्ना सबै सुरक्षा संयन्त्रहरू आफ्नै स्रोतसाधनले निर्माण गरेको छ ।  

सन् २०२१ को अगस्टको अन्त्यमा अफगानिस्तानबाट अमेरिकी नेतृत्वको सेना फिर्ता भएपछि अमेरिका–समर्थित प्रशासनको पतनसँगै सेना र प्रहरीसहितको पूर्व शासनको  तीन लाख ५० हजार कर्मचारी रहेको सुरक्षा बल छिन्नभिन्न भएको थियो । 

तालिबान सत्तामा आएपछि तुलनात्मक रूपमा हिंसात्मक घटनामा कमी आएको छ । इस्लामिक स्टेट, नेशनल रेसिस्टेन्स फ्रन्ट र पूर्वसरकारसँग सम्बद्ध समूहले काम चलाउ सरकारलाई सुरक्षा चुनौती थपेका छन् । 

तालिबानका अमानवीय गतिविधिका कारण त्यहाँका महिला पीडित भएका छन् । विश्वविद्यालयमा पढ्न जान नपाउने, राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थामा काम गर्न उनीहरूमाथि प्रतिबन्ध लगाइएको छ । तालिबानका यस्ता अव्यावहारिक आदेशले अफगान महिलालाई मात्र नभइ अन्तर्राष्ट्रिय समुदायलाई पनि चिन्तित तुल्याएको छ । 

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  ०५:५५
प्रतिक्रिया दिनुहोस्