स्वच्छ उर्जा र जलस्रोतको विकासबाट नेपालको समृद्धिः मुख्यसचिव बैरागी  

बुधबार, चैत १, २०७९

काठमाडौँ– नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले स्वच्छ उर्जा र जलस्रोतको विकासबाट नै नेपालको समृद्धि सम्भव भएको बताएका छन् ।

विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा काठमाडौंमा आयोजना भएको मुल समारोह कार्यक्रममा बोल्दै मुख्यसचिव बैरागीले यस्तो बताएका हुन् ।

नेपाल जलस्रोतमा धनी भएकाले स्वच्छ उर्जाको विकास गरी मुलुकलाई समृद्धितर्फ लैजान आवश्यक रहेको भन्दै उनले मुलुकभित्र रहेको पानीलाई धनमा परिणत गरी समृद्धि ल्याउने माध्यम बनाउन सक्नुपर्ने धारणा राखे ।

यद्यपि, मुलुकभित्र भएको पानीलाई पैसामा परिणत गर्न चुनौति रहेको उनको स्वीकारोक्ति थियो । स्वच्छ उर्जा छ भन्दैमा आवश्यकताभन्दा बढी प्रयोग गर्न नहुने भन्दै उनले सरकार उपभोक्ताकर्मीहरुसँग छलफल गर्न तयार रहेको धारणा राखे ।

उपभोक्ता अधिकारका लागि बनेका कानूनी र नीतिगत संरचना प्राप्त छ वा छैन भन्ने विषयमा छलफल गर्न आवश्यक रहेको भन्दै मुख्यसचिव बैरागीले उपभोक्ता अधिकारको विषय संघ, प्रदेश, स्थानीय तह र अधिकारकर्मीहरुको साझा विषय भएको भन्दै समन्वय गरेर जानुपर्ने बताए ।

उद्योग वािणज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले उपभोक्ता अधिकारको विषयमा सरकारले तीन करोड जनताको घरघरमा पुगेर सचेतना दिन नसक्ने बताए । सरकारले सचेतना गरिदिने काम मात्रै भएको भन्दै सचिव मरासिनीले उपभोक्ता अधिकारको लागि सबैभन्दा ठूलो निरीक्षणकर्ता भनेको नागरिक आफँै भएको धारणा राखे ।

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १४:५०
प्रतिक्रिया दिनुहोस्