च्याम्पियन्स लिग :

हालान्डले कीर्तिमानी ५ गोल गरेपछि फराकिलो जित निकाल्दै सिटी क्वार्टरफाइनलमा

बुधबार, चैत १, २०७९

काठमाडौँ– नर्वेजियन स्ट्राइकर एर्लिङ हालान्डको कीर्तिमानी पाँच गोल गरेपछि इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

गएराति घरेलु मैदानमा भएको प्रि–क्वार्टरफाइनलको दोस्रो लेगमा जर्मन क्लब आरबी लाइप्जिगमाथि सिटीले ७–० को फराकिलो जित निकाल्दै सिटी अन्तिम ८ मा पुगेको हो ।

यी दुई टोलीबीचको पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । यसर्थ, समग्रमा ८–१ नतिजासहित सिटी अन्तिम आठमा पुगेको हो । 

इतिहाद रंगशालामा सिटीका फरवार्ड हालान्डले ५ तथा एकाई गुन्डोगान र केभिन डे ब्रुएनेले एक-एक गोल गरे ।

यससँगै हालान्डले नयाँ कीर्तिमान राखेका छन् । च्याम्पियन्स लिगको एकै खेलमा ५ गोल गर्ने उनी सबैभन्दा कान्छो खेलाडी बनेका छन् । यसअघि अर्जेन्टिनाका लियोनल मेसी र ब्राजिलका लुइस एड्रियानोले एकै खेलमा पाँच गोल गरेका थिए । 
 

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  ०८:०४
प्रतिक्रिया दिनुहोस्