नागढुंगा सुरुङमार्गको काम सक्न अझै ६ महिना लाग्ने, म्याद थप्ने तयारी 

सोमबार, फागुन २९, २०७९

काठमाडौँ– नागढुंगा सुरुङमार्ग परियोजनाको काम सम्पन्न गर्न अझै ६ महिना लाग्ने देखिएको छ । 

आयोजनाको तीन महिना म्याद थपको अवधि आउँदो असार मसान्तमा सकिँदै छ । तर, त्यस अवधिभित्र आयोजना निर्माण सम्पन्न नहुने देखिएको आयोजनाले जनाएको छ । 

आउँदो २०८० असोज मसान्तसम्म आयोजना सम्पन्न गर्ने गरि काम अघि बढाइएको हो । त्यसका लागि थप तीन महिना म्याद थप गर्ने तयारी भइरहेको छ । 

४२ महिनाभित्र निर्माण सक्ने गरी २०७६ साल कात्तिक २६ गतेदेखि औपचारिक रुपमा निर्माण सुरु भएपनि हालसम्म परियोजनाको ५० प्रतिशत मात्र भौतिक प्रगति देखिएको छ ।

सुरु सम्झौता अनुसार सन् २०२३ अप्रिल अर्थात यही चैतसम्म परियोजना सम्पन्न गर्नुपर्ने थियो । तर, कोरोना महामारी लगायतका कारण परियोजनाको काम अघि बढ्न पाएन । कोभिड–१९ ले परियोजनालाई थप ६ महिना पछि धकेल्यो । तथापि, तोकिएको समयभित्र नसकिने भएपछि थप तीन महिना म्याद थप गरिएको थियो । 

आगामी असार मसान्तभित्र सुरुङमार्गको सम्पूर्ण काम सम्पन्न गर्न निकै चुनौतपूर्ण रहेको सडक विभागका प्रवक्ता रामहरी पोखरेलले जानकारी दिए ।

उनका अनुसार, थपिएको समयभित्र पनि निर्माण नसकिने भएपछि आयोजनाकाे म्याद पुनः थप्ने तयारी गरिएको हो ।

‘पहिलो तीन महिना म्याद थपको समय आउँदो असारसम्म छ, त्यस अवधिभित्र सुरुङमार्गको सम्पूर्ण काम सकिन गाह्रो छ, दोस्रो म्याद थप्ने गरी प्रस्ताव गरेर पठाएका छौं,’ प्रवक्ता पोखरेलले सिएन नेपालसँग भने ।

स्थानीयको अवरोध, कोरोना महामारीलगायतका कारणले परियोजना केही पछि धकेलिन पुगेको उनी बताउँछन् । 

हालसम्म सुरुङमार्गतर्फ ७५ प्रतिशत काम सकिएको छ । परियोजनाको मुख्य सुरुङमार्ग २ हजार ६८८ मिटरमध्ये हालसम्म २ हजार १६ मिटर टनेल खनिसकिएको छ । त्यस्तै, समानान्तर रुपमा जाने आकस्मिक (इमरजेन्सी) टनेल २ हजार ५५७ मिटरमध्ये २ हजार ५२ मिटर टनेल खनिसकिएको छ । 

दुई वटै टनेललाई जोड्ने (क्रस प्यासेज) १२८ मिटरमध्ये ७६ मिटर सम्पन्न भइसकेको प्रवक्ता पोखरेलले जानकारी दिए । त्यसबाहेक १२६ मिटरको वर्किङ अडिटको काम भने सम्पन्न भएको छ ।

सुरुङमार्ग निर्माण जापानिज कम्पनी हाज्माहान्दो जेभीले पाएको छ । कोभिड महामारीका बेला निर्माणमा समस्या आएको भन्दै कम्पनीले ४१६ दिन म्याद थप्न प्रस्ताव गरे पनि आयोजना कार्यालयले भने ८६ दिनमात्रै म्याद थप गरी स्वीकृत गरिसकेको छ । जापान सहयोग नियोग (जाइका) को ऋण सहयोग १६ अर्ब र नेपाल सरकारको ६ अर्ब गरी परियोजनाको कुल लागत २२ अर्ब रुपैयाँ अनुमान गरिएको थियो । 

हालसम्म १० अर्बभन्दा बढी खर्च भइसकेको आयोजनाले जनाएको छ । सुरुङमार्ग सञ्चालनमा आएपछि नौबिसेबाट काठमाडौं २० देखि २५ मिनेटमा आइपुग्ने अनुमान छ । १२ मिटरको चौडाइको सुरुङमार्गको दायाँबायाँ पैदलयात्रीका लागि समेत छुट्टै फुटपाथ पनि निर्माण हुनेछ ।

परियोजना अघि बढाउँदै जाँदा आवश्यक पर्ने जग्गा अधिग्रहण र मुआब्जा वितरणमा निम्तिएको समस्या अहिलेसम्म पनि टुंगिन सकेको छैन । बेला– बेला परियोजना निर्माणमा स्थानीय बासिन्दाको अवरोध र तोडफोड पनि परियोजना निर्माणमा थप ढिलाई भइरहेको पोखरेल बताउँछन् । 

खासगरी, धादिङतर्फ त्रिभुवन राजमार्गको भित्तापट्टी ‘वाल’लगाउन त्यहाँको जमिन अधिग्रहण गर्न सकिएको छैन ।  त्यहाँका स्थानीयले करिब १०० मिटरको जग्गाको मुआव्जा दिनुपर्छ भन्दै अवरोध गरिरहेको छन् । उक्त जग्गा सडक विभाग अन्तर्गतकै पर्ने परियोजनाको दाबी छ । वाल लगाउन नपाउँदा पश्चिमतर्फ पर्ने ठाउँ पिँच गर्न नपाएको उनले बताए । धादिङ खण्डमै करिब ४ वटा स्थानीयका घर अधिग्रहण गर्नुपर्नेमा अदालतमा परेको मुद्दा नटुंगिएका कारण घरवालाले घर भत्काएका छैनन् । यसबाहेक काठमाडौंतर्फ पनि त्यहाँका स्थानीय बासिन्दाले परियोजना निर्माणका क्रममा पटक पटक अवरोध गर्दै आएका छन् । 

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  १०:२८
प्रतिक्रिया दिनुहोस्