बृहत्तर हितलाई ध्यान दिएर निर्णय गर्छौं : राप्रपा

मंगलबार, फागुन २३, २०७९

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा बृहत्तर हितलाई हेरेर निर्णय लिने जनाएको छ ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले राष्ट्रपति निर्वाचनबारे निर्णय लिन बुधबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको र उक्त बैठकले बृहत्तर हितबारे निर्णय लिने बताए ।
उनले भने, ‘राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा बुधबार दिउँसो १ बजे बैठक बोलाइएको छ । हामी सबै विकल्पमा खुला छौँ, पार्टीको बृहत्तर हितलाई ध्यान दिएर निर्णय गर्छौँ ।’

राष्ट्रपति निर्वाचनका सन्दर्भमा विभिन्न विकल्पमा छलफल हुने प्रवक्ता श्रेष्ठले उल्लेख गरे । 

यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले)का सुवास नेम्वाङ उम्मेदवार छन् । 
फागुन १२ गते बसेको राप्रपाको बैठकले राष्ट्रपतिको निर्वाचनमा प्रस्तावक र समर्थक दुवै नबस्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  १४:४९
प्रतिक्रिया दिनुहोस्