संघर्षकाे कथा

संघर्षका पर्याय चन्द्रबहादुर : जसको शरीरले साथ छाड्यो, तर हिम्मत हारेनन्

साेमबार, फागुन २२, २०७९

काठमाडौँ– आफुले आँटको काम पत्ते गर्न भगवानको पनि साथ हुने सन्दर्भ बताउने एउटा उक्ति नेपाली समाजमा प्रचलित छ, ‘भगवानले पनि भन्छन् त आँट, म पुर्‍याउँछु ।’

यो उक्तिले कुनै पनि कामप्रतिको लगाव र निरन्तर संघर्षको लागि प्रेरित गर्छ । व्यक्तिमा दृढ इच्छा शक्ति भयो भने अरुले असम्भव ठानेका कतिपय काम सहजै सम्भव तुल्याउन सकिन्छ । त्यही कामले समाजमा उदाहरणको पात्र पनि बनाइदिन्छ । 

त्यस्तै एक उदाहरणका पात्र हुन् काठमाडौंको तारकेश्वरमा रहेको अपाङ्ग सेवा केन्द्रका अध्यक्ष चन्द्रबहादुर खत्री ।

दोलखाको जिरी घर भएका खत्री ७ वर्षका मात्रै थिए तर, उनको शरीरको आधा भागले साथ दिन छाड्यो । बाल्यकालमै अशक्त हुन पुगे । कम्मरमुनीको कुनै पनि अङ्ग नचल्ने भयो । उनले रहर पुग्नेगरी बाल्यजीवन बिताउनसमेत पाएनन्  । 

नजिकैको स्कुलमा कक्षा ६ सम्मको अध्ययन गरे । माथिल्लो कक्षा पढ्का लागि टाढा जानुपर्ने भएको त्यो उनको क्षमता बाहिरको कुरा बनिदियो । उनको बाल्यवस्था यति पीडादायी थियो कि जुन उनी अहिले सम्झन पनि चाहँदैनन् । 

उनलाई सानै उमेरमा स्पाइनल कड इन्ज्युरी भयो । जसको कारण उनको दुबै खुट्टाले भर दिदैनन् । 

भौतिकरूपमा उनको शरीर कमजोर बनिदियो तर, मानसिकरुपमा भने उनले कहिल्यै हिम्मत हारेनन् । गाउँले र आफन्तबाट हेपिए तर, उनको आत्मबल कहिल्यै दुर्बल भएन । 

समस्यै समस्याका बीच उनी १४ वर्षको उमेरमा काठमाडौं आइपुगे । 

काठमाडौं आएपछि उनको दैनिक झन पीडायुक्त बन्यो । उनका अगाडि ३ वटा मात्रै विकल्प बाँकी रहे । 

उनी भन्छन्, ‘मेरो अगाडि मर्नु, माग्नु वा सम्मानपुर्वक बाँच्नु जम्मा ३ विकल्प मात्रै थिए । मर्न हिम्मत आएन । माग्न पनि सकिन । बाँच्नका लागि भोक मेटाउने उपाय थिएन् ।’ 

 

बाँच्न अर्थात भोक मेटाउनकै लागि सडकको छेउमा बसेर बोत्तलमा पानी बेच्न थालेको उनले सुनाए । 

‘एक छाँक टार्नकै लागि सडक छेउमा धुलो, धुँवा र घाम पानी नभनी संघर्ष गरेको दिन हिजोजस्तै लाग्छ’, खत्रीले निकट विगत सम्झिए । 

पानी बेचेर कमाएको पैसाले जसोतसो भोक त टर्थ्याे तर, त्यसरी कति दिन रहने ? काठमाडौंमा चिने जानेको र सहयोग पाउने कुनै ठाउँ थिएन । 

हेलाहोचो गर्ने आफन्त र गाउँलेका अगाडि आफु कमजोर नभएको सावित गर्ने अठोट मनमा थियो । तर, त्यसलाई आकार दिने आधार भने थिएन ।

पानी किन्न आइपुगेका ग्राहकहरूसँग उनी भन्थे, ‘मलाई केही सीप सिक्ने ईच्छा छ । कतै त्यस्तो ठाउँ भए सहयोग गरिदिनुहोस् ।’ 

एक दिन एक जना ग्राहकले कीर्तिपुरमा धुप बनाउन सिकाउने ठाँउको बारेमा बताए र त्यसको सम्पर्क विवरण दिए । 

नभन्दै कीर्तिपुरबाट उनले अगरबत्ती बनाउने तालिम लिए । त्यसपछि, साबुन र मैनबत्ती बनाउन पनि सिके । 

केही वर्ष यिनै सीप प्रयोग गरेर काम गरे र केही कमाइ पनि ।  अब भने खत्रीले आफु कमजोर नरहेको आधार पाए । 

आफुले जानेको सीप आफुजस्तै समस्यामा परेका अरूलाई सिकाउने निधो गरे । त्यसबेलासम्म उनीसँग ३ लाख रुपैयाँ बचतमा थियो । 

त्यसैको लगानीमा २०७० सालमा काठमाडौंको तारकेश्वरमा अपाङ्ग सेवा केन्द्रको स्थापना गरे । 

disabele_Service1678018862.jpg

अहिले त्यहीँ केन्द्रले स्पाइनल कड इन्ज्युरी भएका व्यक्तिहरुलाई आश्रय दिइरहेको छ । 

५ जनाबाट सुरू भएको सेवा केन्द्रमा अहिले २२ जना मानिस छन् । 

अझ भनौ, खत्रीले आफुसहित २२ जना मानिसको जीवन सहज बनाएका छन् । 

‘जीवनमा अहिले पनि खासै सुधार आएको त कहाँ हो र ? तर बिहान, बेलुका के खाने, घाम पानीबाट ओत लाग्न कहाँ जाने भन्ने कुराको चिन्ता छैन’, खत्रीले भने ।

अपाङ्गता भएका मानिसहरुको जीवन सहजिकरण गरिदिनु उक्त सेवा केन्द्रको मुख्य उद्देश्य हो ।

शरीरको केही भागले साथ नदिए पनि आफै कमाएर जिविकोपार्जन गर्न सकिन्छ भन्ने सिकाउन सक्नु नै आफ्नो सफलता रहेको उनी बताउँछन् । 

Disable_Service_Center1678018761.png

अहिले उक्त सेवा केन्द्रमा रहेका व्यक्तिहरुले हातैले बुनेर बनाउन सकिने विभिन्न सामाग्री बनाउँछन् । त्यसैको आम्दानीले जिविकोपार्जन गर्छन् । 

विभिन्न प्रकारका खेलौना, साबुन, मैनबत्ति, बस्नको लागी प्रयोग हुने मुढा, सोफामा राखिने कुशन उक्त सेवा केन्द्रमा बन्ने गरेको खत्रीले बताए । 

त्यहाँ बनेका कतिपय सामानहरु सेवा केन्द्रबाटै बिक्री हुन्छ । कतिपय चाहिँ फुटपाथमा बसेर पनि बेच्ने गरिएको खत्रीले बताए । तर, महानगरले फुटपाथमा सामान बेच्न नदिने नियम बनाएसँगै आफुहरुले बनाएको सामान बिक्रीमा समस्या उत्पन्न भएको उनले बताए । फुटपाथबाटै दैनिक करीब ३ हजारसम्मको व्यापार हुने गरेको उनी बताउँछन् । 

Disable_Service_Center11678018761.png

त्यसरी सामान बिक्रीबाट महिनामा करीब एक लाख रूपैयाँसम्म आम्दानी हुने गरेको उनले बताए । तर, फुटपाथमा व्यापार गर्न नपाएपछि सेवा केन्द्रको आम्दानी घटेको खत्री बताउँछन् । 

त्यही आम्दानीबाट सेवा केन्द्रमा आश्रय लिइरहेका व्यक्तिहरुको थेरापी, खाद्यन्न, लत्ताकपडा लगायतको व्यवस्थापन हुने गरेको उनले बताए । 

केन्द्रमा रहेका २२ जना मानिसले हप्ताको ६ दिन विहान १० बजेदेखी ५ बजेसम्म काम गर्छन् । 

राज्यले आफुहरूको व्यवस्थापनमा कुनै सहयोग नगरेको बरू आफ्नै प्रयासमा जिविकोपार्जन गर्दा पनि अवरोध गरिरहेको उनी बताउँछन् । 

‘हाम्रो सुविधाको लागी समय समयमा आवजहरु त उठ्ने गरेका छन् । तर, सुनिदिने कोही छैन् । घरपरिवारबाट त हेपिएका हामीले बाँच्नका लागि संघर्ष गर्नुको विकल्प छैन’, उनले पीडाभाव सुनाए । 

तर, शारीरिकरूपमा अशक्त भए पनि मानसिकरुपमा अरू भन्दा कमजोर नरहेको खत्री बताउँछन् ।

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  ०७:०५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार