इन्डोनेसियामा इन्धन डिपो विस्फोट : मृत्यु हुनेको संख्या १७ पुग्यो

आइतबार, फागुन २१, २०७९

जकार्ता– इन्डोनेसियाको जकार्तास्थित उत्तरी भागमा शुक्रबार राति भएको इन्धन भण्डारण विस्फोटमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ । 
    
जकार्ता डिजास्टर मिटिगेसन एजेन्सी (बिपिढिडी)का कार्यवाहक प्रमुख मुहम्मद रिदवानले घटनामा घाइते हुनेको संख्या ५१ पुगेको र तिनीहरूको हाल राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिएका छन् ।

उत्तरी जकार्ताको प्लुम्पाङस्तित सरकारी तेल कम्पनी पर्टामिनाको इन्धन भण्डारण स्टेशनमा शुक्रबार राति करिब ८ः०० बजे विस्फोट भएको थियो । सो विस्फोटनबाट स्टेसन नजिकैका बासिन्दा आगो फैलिने त्रासले घर छाडेर भागेका थिए । 

उक्त आगो निभाउन ५० भन्दाबढी दमकल र २६० भन्दाबढी अग्निनियन्त्रक खटाइएको थियो । करिब ६ घण्टा लामो प्रयासपछि आगो निभाउन सफल भएको बताइएको छ । 

विस्फोटले यस क्षेत्रका एक हजारभन्दा बढी बासिन्दालाई प्रत्यक्ष असर गरेको थियो । प्रभावितलाई अहिले नजिकैको अस्थायी आश्रयस्तलमा सारिएको छ ।

उक्त घटनामा आठजना बेपत्ता भएको बताइएको छ । घटनामा अन्य सम्भावित पीडितको खोजी गर्न उद्धारकर्ता अझै पनि घटनास्थलमा परिचालित छन् ।
 

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  ०६:१५
प्रतिक्रिया दिनुहोस्