अमेरिकी राष्ट्रपति बाइडेन र जर्मन चान्सलर स्कोल्जबीच युक्रेनबारे छलफल, रुसको चेतावनी

शनिबार, फागुन २०, २०७९

बर्लिन– अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनका लागि आफ्नो समर्थनमा आगामी बाटो तय गर्ने विषयमा छलफल का लागि शुक्रबार वासिङ्टनमा जर्मन चान्सलर ओलाफ स्कोल्जलाई स्वागत गरेका छन् । 

सन् २०२२ फेब्रुअरीपछि भएको स्कोल्जको पहिलो वासिङ्टन भ्रमणले नेताहरूलाई रुसविरुद्ध युक्रेनलाई समर्थन गर्ने आफ्नो सङ्कल्प व्यक्त गर्ने अवसर मिलेको छ । 

यो वार्ताले मुद्रास्फीति न्यूनीकरण ऐनअन्तर्गत वासिङ्टनको हरित अनुदानबारे जर्मनीको डर र बर्लिनको बेइजिङसँगको निरन्तर बलियो आर्थिक सम्बन्धप्रति अमेरिकी चेतावनीलगायत यी दुईलाई विभाजित गर्ने जटिल विषयहरूमा केन्द्रित हुने सम्भावना छ ।

स्कोल्जका प्रवक्ता स्टेफेन हेबेस्ट्रेइटले भने, ‘युक्रेनमा आगामी महिनाहरू कस्तो देखिन्छन् ?, मेरो विचारमा दुई नेता युक्रेनको भविष्यका बारेमा बढी चिन्तित छन् । युक्रेनका लागि मित्रराष्ट्रहरूले आयोजना गर्न सक्ने सहयोगका लागि यसको अर्थ के हो ?’ 

दुई नेताले निश्चित रूपमा अन्य केही विषयहरूमा छलफल गर्ने उनले दबी गरे ।

बैठकको पूर्वसन्ध्यामा संसदलाई सम्बोधन गर्दै स्कोल्जले युक्रेनका दुई ठुला समर्थकबीचको साझेदारी ‘पहिलेभन्दा नजिक र बढी विश्वासिलो’ रहेको बताए । 

युक्रेनमा युद्ध दोस्रो वर्षमा प्रवेश गर्दै गर्दा स्कोल्जले भने, ‘हामी युक्रेनको भविष्यको सुरक्षा ग्यारेन्टीको बारेमा किभ र अन्य साझेदारहरूसँग कुरा गरिरहेका छौं ।’

यसैबीच रुसले पश्चिमा देशहरूलाई युक्रेनलाई थप हतियार उपलब्ध नगराउन शुक्रबार चेतावनी दिएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘यो स्पष्ट छ कि थप हतियार उपलब्ध गराउँदा यसले द्वन्द्वलाई लम्ब्याउनेछ र युक्रेनी जनताका लागि दुःखद परिणाम ल्याउनेछ ।’

प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  ०६:१६
प्रतिक्रिया दिनुहोस्