जनताको जलविद्युत् कार्यक्रम

जगदुल्ला–१ मा निफ्रासहित ४ कम्पनीले १६ अर्ब लगानी गर्ने

१ वर्षपछि निर्माण सुरु, ५ वर्षमा सम्पन्न गर्ने लक्ष्य
शुक्रबार, फागुन १९, २०७९

काठमाडौँ– जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत १०६ मेगावाटको जगदुल्ला–१ अर्धजलाशयुक्त जलविद्युत् आयोजना निर्माणका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को अगुवाइमा ४ कम्पनीले लगानी गर्ने भएका छन् ।

आयोजना निर्माण गर्न निफ्रासहित सञ्चय कोष, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) र नबिल बैंकको संयुक्त ऋण लगानी रहेनछ ।

निफ्रासहित ४ वटा कम्पनीले संयुक्त रूपमा १६ अर्ब रुपैयाँ ऋण लगानी गर्ने गरी परियोजनाको वित्तिय मोडालिटी बनेको जलदुल्ला हाइड्रोपावर कम्पनीका प्रोजेक्ट म्यानेजर सञ्जय सापकोटाले सिएन नेपाललाई जानकारी दिए ।

आउँदो २०७९ असारसम्म वित्तीय व्यवस्थापन बन्द (फाइनान्सिङ क्लोजर) गर्ने गरी प्रक्रिया अघि बढाइएको उनको भनाइ छ । 

‘अहिले परियोजनामा वित्तीय व्यवस्थापनको काम भइरहेको छ । आउँदो असारसम्म फाइनान्सिङ क्लोज गरिसक्छौँ,’ उनले भने, ‘अर्को वर्ष (२०८१ असारदेखि) आयोजना निर्माणमा लैजाने तयारी छ ।’

१ वर्षभित्र आयोजना निर्माणका लागि परामर्शदाता, ठेकेदार छनोट र विद्युत् खरिद सम्झौता (पिपिए) लगायत काम सम्पन्न गरेर २०८१ असारदेखि आयोजना निर्माण सुरु गर्ने योजना छ ।

कुल २३ अर्ब रुपैयाँको लागत अनुमान गरिएको आयोजनाका लागि १६ अर्ब रुपैयाँ ४ वटा बैंकबाट ऋण लिएर पुँजी जुटाइनेछ भने बाँकी रकम इक्विटी होल्डरहरू, विद्युत् उत्पादन कम्पनी लिमिटेड, नेपाल विद्युत् प्राधिकरण, कर्णाली प्रदेश सरकार, स्थानीय पालिकाबाट वित्तीय व्यवस्थापन गरिने सापकोटाले बताए ।

आयोजनाले विद्युत् खरिद सम्झौता (पिपिए) को निवेदन विद्युत् प्राधिकरण र विद्युत् नियमन आयोगमा बुझाइसकेको श्रेष्ठले बताए । आउँदो असार मसान्तसम्म पिपिए स्वीकृत भएर आएसँगै निर्माण प्रक्रियाका लागि ठेक्का आह्वान गरिने उनको भनाइ छ ।

५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य 

आउँदो असार मसान्तसम्म पिपिए र फाइनान्सिङ क्लोजर हुने अपेक्षा रहेको उनको भनाइ छ । आयोजना निर्माण क्षेत्रमा पर्ने वातावरणीय प्रभाव मूल्यांकन (इआइए) को प्रक्रिया पनि अन्तिम चरणमा पुगेको उनले बताए । 

इआइएका लागि वन तथा वातावरण मन्त्रालयमा प्रस्ताव पेस गरिसकिएको छ । हाल जग्गा अधिग्रहण भइसकेको छ भने रूख काट्न इआइए स्वीकृत हुन बाँकी छ ।

निर्माण सुरु भएको ५ वर्षभित्र उक्त अर्धजलाशययुक्त आयोजना निर्माण गर्ने लक्ष्य लिइएको छ ।

जनताको जलविद्युत् कार्यक्रमको पहिलो मोडल ‘प्रोजेक्ट’

जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत समावेश गरिएको आकर्षक जलविद्युत् आयोजनाअन्तर्गत जगदुल्ला–१ पर्छ ।

जनताको जलविद्युत् कार्यक्रममा जनतालाई सेयर मात्र दिइन्थ्यो । त्यसबाट मात्र पुँजी जुटाइन्थ्यो भने यो आयोजनामा प्रत्यक्ष रूपमा स्थानीय पालिकाहरू र प्रदेश सरकारको समेत सहयोग रहनेछ ।

अर्थात्, स्थानीय पालिका र प्रदेश सरकारको पनि सहयोग रहने यो पहिलो ‘मोडल’को प्रोजेक्ट बन्नेछ । प्रदेश र स्थानीय सरकारलाई पनि आफ्नो क्षेत्रको जलविद्युत् परियोजनाप्रति अपनत्व होस् भनेर सहभागी गराउन खोजिएको आयोजनाका म्यानेजर श्रेष्ठले बताए ।

कर्णाली प्रदेशको ५ प्रतिशत र आयोजना क्षेत्रका २ पालिकाको १ प्रतिशत सेयर रहनेछ ।

४९ प्रतिशत सेयर भने सर्वसाधारणका लागि खुला गर्ने गरी सेयर मोडालिटी बनाइएको उनले बताए । त्यसमध्ये १० प्रतिशत डोल्पाबासीलाई र ३ प्रतिशत प्रसारण लाइन निर्माणवालालाई सेयर छुट्याएको छ ।

आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण अन्तिम चरणमा पुगेको छ । उक्त डिपिआर पनि १ वर्षभित्र सम्पन्न गर्ने आयोजनाको तयारी छ । 

आयोजना प्रभावित क्षेत्रमा उपल्लो डोल्पाका २ वटा पालिका पर्नेछन् । जगदुल्ला गाउँपालिका–१ हुरिकोटमा २३ मिटर अग्लो ड्याम बनाएर ६.३ किलोमिटर सुरुङमार्फत पानी खसालेर विद्युत् उत्पादन गरिनेछ । मुड्केचुला गाउँपालिका–४ मा सबस्टेसन निर्माण गरिनेछ ।

उक्त आयोजनाको अर्को क्यासकेट परियोजना जगदुल्ला–२ आयोजना पनि सम्भाव्यताकै क्रममा छ । कुल ८२.३ मेगावाट क्षमतामा क्यासकेट परियोजनाको अध्ययन र डिजाइनको काम अघि बढिरहेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  ०८:२२
प्रतिक्रिया दिनुहोस्