पौडेलले जित्नेमा दुईमत छैन : प्रवक्ता महत

बिहीबार, फागुन १८, २०७९

काठमाडौँ– नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले राष्ट्रपतिमा रामचन्द्र पौडेलले जित्नेमा दुईमत नरहेको दाबी गरेका छन् ।

बिहीबार ८ दलीय गठबन्धनले काठमाडौँमा आयोजना गरेको सांसद अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले प्रदेशमा मात्रै रहेका २ दलसहित अहिलेसम्म राष्ट्रपतिका उम्मेदवार पौडेललाई समर्थन गर्ने दलको संख्या ११ पुगिसकेको बताए । अहिलेको परिस्थितिलाई बुझ्ने उपयुक्त पात्र पौडेल मात्रै भएको भन्दै उनले समर्थन अझै बढ्ने सम्भावना रहेको बताए ।

‘एमालेको समर्थन पनि हाम्रो उम्मेदवारलाई भए झनै राम्रो हो । धेरै ठुलो समर्थन रामचन्द्र पौडेलजीले प्राप्त गर्दै हुनुहुन्छ । अहिलेको आवश्यकताको पूर्ति उहाँले गर्न सक्नुहुन्छ भन्नेमा नै समर्थन प्राप्त भइरहेको छ,’ उनले भने, ‘प्रदेशमा मात्रै सहभागी दलहरूको समर्थन थपिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले जित्नेमा दुईमत नै छैन ।’

अभिमुखीकरण कार्यक्रममा उम्मेदवार पौडेलले संविधानको अक्षरशः पालना गर्ने कुरामा प्रतिबद्धता जनाए ।

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १६:४२
प्रतिक्रिया दिनुहोस्