र्‍याबिट क्याफे : जहाँ खरायो र मुसासँग खेल्दै चिया–खाजा खान पाइन्छ

बिहीबार, फागुन १८, २०७९

काठमाडौँ– नेपालमा पछिल्लो समय ग्राहकलाई नयाँपन दिन र आकर्षण बढाउन फरक–फरक कन्सेप्टका व्यवसाय सञ्चालनमा आएका छन्, आइरहेका छन् ।

तिनैमध्ये ‘र्‍याबिट क्याफे’ पनि एक होे ।

यो नाम सुन्नासाथ अधिकांशको मनमा लाग्न सक्छ– खरायोबाट बन्ने परिकार मात्र पाइन्छ होला । 

तर, यहाँ त्यसको ठिक विपरीत हुने गर्छ । यहाँ र्‍याबिट मारेर खाने होइन । बरु तिनै ‘क्युट र्‍याबिट’सँग खेल्दै बस्न र अन्य खानेकुरा खान सकिन्छ । 

rabbit cafe (8)1677671319.jpg

पछिल्लो समय रोजगारीका लागि बिदेसिने युवाको संख्या मात्र होइन, देशमा नै रोजगारीको अवसर देख्ने युवाको संख्या पनि बढ्दो छ ।

दैनिकजसो नेपालबाट रोजगारीको अवसर खोज्दै विभिन्न देश जाने युवाको संख्या बढेजस्तै विदेशबाट फर्केर नेपालमै केही गर्नेको जमात पनि बाक्लो हुँदै गएको छ । 

तिनै युवामध्येका हुन्– काठमाडौँको बौद्ध फूलबारीस्थित ‘द र्‍याबिट क्याफे’का सञ्चालक विनोद लामा 

२७ बर्से लामा हाल काठमाडौँको गोकर्णेश्वरमा बस्छन् । करिब ६ वर्षको जापान बसाइपछि नेपाल फर्किएका उनको पुख्र्यौली घर काभ्रे हो ।

rabbit cafe (9)1677671319.jpg

२०७० सालमा जापानमा इन्टरनेसनल बिजनेस कोर्स पढ्न गएका उनले पढाइसँगै काम पनि गरे । 

केही वर्षको बसाइपछि भने उनलाई जापान बस्न मन लागेन र नेपाल फर्कने निधो गरे । 

प्रायः नेपाली विदेश जाने र उतै बस्ने वातावरण बनाउने प्रयास गर्छन् । यस्तो अवस्थामा उनीचाहिँ जापानबाट फर्किए । जापानबाट फर्किनुको कारणबारेको प्रश्नमा उनी भन्छन्, ‘मलाई नेपालमै रमाइलो लाग्छ । यहाँको जस्तो वातावरण र आफ्नोपन अरू कुनै ठाँउमा छैन ।’

म गर्न सक्छु भन्नेहरूका लागि नेपालमा प्रशस्त अवसर रहेको उनको भनाइ छ ।

उनलाई जापान बस्न मन परेन । घर फर्किए । बसाइ मन नपरे पनि त्यहाँको कन्सेप्टचाहिँ मन पर्‍यो उनलाई ।

rabbit cafe (10)1677671319.jpg

द र्‍याबिट क्याफे जापानबाटै आएको कन्सेप्ट भएको लामा बताउँछन् । जापानमा घन्टाको हिसाबमा पैसा तिरेर जनावरहरूसँग खेल्दै खान पाइन्छ । त्यही कन्सेप्ट नेपालमा पनि सुरु गरेका हुन् उनले ।

‘जापानबाट फर्किएपछि करिब ३ महिनाको अध्ययनपछि माघ १५ गते क्याफे सञ्चालन गरेको हो,’ लामाले भने ।

नेपालमा सम्भवतः एनिमल्स क्याफेका रूपमा र्‍याबिट क्याफे पहिलो हुन सक्ने उनको अनुमान छ । 

जापान जाँदै गर्दा नै नेपाल फर्कन्छु भन्ने सोच बनाएर गएको उनी बताउँछन् । ‘फर्किएर नेपालमा नयाँ केही गर्छु भन्ने सोच बनाएर गएको थिएँ । फलस्वरूप नेपालमा एनिमल्स क्याफेबारे अध्ययन गर्दै जाँदा यसबाट राम्रो फाइदा हुने देखेपछि क्याफे सुरु गरेको हुँ ।’

rabbit cafe (3)1677671318.jpg

जापानमा एनिमल्स क्याफेको छुट्टै महत्व रहेको उनी बताउँछन् । त्यहाँका मानिस मिहिनेती हुने र त्यहीअनुसारको एक्लोपन पनि हुने भएकाले खरायोसँग खेलेर समय बिताएमा एक्लोपनबाट छुटकारा पाउन सकिन्छ भन्ने बुझाइ रहेको उनी बताएँछन् । 

क्याफेमा हाल र्‍याबिट र गिनिबिक गरी जम्मा ३० वटा एनिमल्स छन् । समय–समयमा भेटेरिनरीका डाक्टरहरूबाट जनावरको स्वास्थ्य जाँच र सरसफाइमा विशेष ध्यान दिने गरेको उनको भनाइ छ ।

बिहान र बेलुका ३ घन्टा सरसफाइमा नै जाने उनी बताउँछन् । हाल बिहान ८ बजेदेखि राति ९ बजेसम्म क्याफे खोल्ने गरेको उनी बताउँछन् । 

क्याफेमा हाल विशेष गरी कपल्स र बच्चाहरूलाई फोकस गरिएको लामाले बताए । 

खरायोले टोक्यो भने रेबिज लाग्छ, खरायो समाउँदा मर्छ जस्ता भ्रमका कारण सुरु–सुरुमा समस्या भएको लामा बताउँछन् । तर, खरायोले टोकेमा रेबिज नलाग्ने उनी बताउँछन् । 

rabbit cafe (7)1677671318.jpg

करिब २५ लाख रुपैयाँ लगानीमा एक्लै सुरु गरेको व्यवसायमा हाल उनले ९ जनालाई रोजगारी दिएका छन् । क्याफे सञ्चालन गर्दै गर्दा सबैबाट राम्रो प्रतिक्रिया भने नपाएको उनको गुनासो छ । 

फोहोर हुने भएकाले सुरुमा क्याफेका लागि ठाउँ नै पाउन मुस्किल भएको उनको भोगाइ छ ।

तर, ‘पहिले राख्न दिनुस्, पछि समस्या भएमा हामी ठाउँ परिवर्तन गर्छौँ’ भनेर सम्झाएपछि बल्ल ठाउँ पाएको उनी सुनाउँछन् । 

नेपाल फर्किंदै गर्दा साथीभाइले ‘नेपालमा गर्नलाई केही छैन, किन जान्छस्’ जस्ता कुरा पनि गरे । 

rabbit cafe (6)1677671318.jpg

नेपालमा आएर व्यवसायबारे सल्लाह लिन खोज्दा पनि राम्रोभन्दा बढी नराम्रो प्रतिक्रियाको सामना गर्नुपर्‍यो ।

तर, त्यस्ता निरुत्साहन गर्ने कुरा नसुनी आफ्नो मनको कुरा सुनेको र हाल व्यवसाय पनि रामै्र भइरहेको लामा बताउँछन् । अब आउने दिनमा क्याफेलाई थप बढाएर लैजाने सोच उनको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  ०७:२८
प्रतिक्रिया दिनुहोस्