नेभिगेशन
समाचार

‘कोसी’ नामबाट पछि हट्यो कांग्रेस

विराटनगर –प्रदेश १ मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेशको नाम ‘कोसी’बाट पछि हटेको छ । प्रदेश नामकरणका लागि दिएको समर्थन कांग्रेसले फिर्ता लिएको छ । एमालले प्रस्ताव गरेको ‘कोसी’ नाममा समर्थक बसेका कांग्रेसका प्रदेश सांसद भूमिप्रसाद राजवंशीले समर्थन फिर्ताका लागि प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका छन् ।

कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले ‘कोसी’ प्रदेश नामकरण प्रस्तावमा एमाले प्रस्तावक र कांग्रेस र माओवादी केन्द्र समर्थक बस्ने सहमति भएको बताए । तर प्रस्ताव दर्ता गराउने बेलामा माओवादीले पूर्वसहमति अनुसार समर्थक नबसेकाले कांग्रेस पनि समर्थन फिर्ता लिएको उनको भनाइ छ । उनले समर्थन फिर्ता लिए पनि मतदान ‘कोसी’ नाममै गर्ने बताए ।

‘कोसी’ नामका लागि दर्ता गरिएको प्रस्तावमा एमालेका प्रदेश सांसद रामबहादुर मगर प्रस्तावक र कांग्रेसका भूमिप्रसाद राजवंशी, एमालेका निरन राई र बिदुरकुमार लिङ्थेप समर्थक छन् ।

माओवादी केन्द्रले पनि ‘कोसी’ नाममै मतदान गर्ने बताएको छ ।

नेकपा (एकीकृत समाजवादी) र सत्तारूढ दल जनता समाजवादी पार्टीले संयुक्त रूपमा ‘किरात–लिम्बुवान–सगरमाथा’ नाम हुनुपर्ने प्रस्ताव दर्ता गराएका छन् । यी दुई वटा प्रस्ताव सदनमा पेस हुने भएको हो ।

प्रदेशसभाको नामकरणका लागि प्रदेशसभामा कायम रहेका दुई तिहाई सांसदको समर्थन हुनुपर्ने संबैधानिक व्यबस्था छ ।

प्रदेश नामकरणका लागि ६३ जना सांसद आवश्यक हुन्छ । प्रदेशसभामा एमालेका ४०, काँग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन् ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार