गड्डाचौकीबाट ६ महिनामा ७ करोडको तरकारी आयात

मंगलबार, फागुन १६, २०७९

महेन्द्रनगर– कञ्चनपुरको गड्डाचौकी नाकाबाट ६ महिनामा ७ करोड रुपैयाँभन्दा बढीको तरकारी आयात भएको छ ।

कञ्चनपुरमा बितेका वर्षमा तरकारी खेतीप्रति किसानको आकर्षण बढिरहेको भए पनि यहाँ तरकारी भारतबाट आउने क्रम रोकिएको छैन ।

कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको साउनदेखि गत पुससम्म यहाँबाट ७ करोड ६५ लाख ४४ हजार रुपैयाँको तरकारी आयात गरिएको छ ।

कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुव विकले चालु आर्थिक वर्षको हालसम्म ८० करोडको सामान आयात भएको जानकारी दिए ।

‘गत वर्ष १ अर्ब १२ करोडको सामान यहाँबाट भित्रिएको थियो,’ उनले भने, ‘अहिले आयात घटेको अवस्था छ ।’ भन्सार कार्यालयका अनुसार यहाँबाट आलु, प्याज, गोलभेँडा, काउली, मुला, गाँजरलगायत तरकारी आयात हुने गरेको छ । 

६ महिनामा ३ हजार ४७ मेट्रिक टन तरकारी भारतबाट आयात भएको भन्सारको तथ्यांकले देखाएको छ ।

त्यसैगरी भन्सारबाट ३ करोड ३० लाखको दाल भारतबाट भित्रिएको छ । यहाँबाट मसुर, मास, मटर, चनालगायतको दाल आयात भएको छ ।

कञ्चनपुर भन्सार कार्यालयका कम्प्युटर अपरेटर भूषण गिरीले यहाँबाट चालु आर्थिक वर्षको ६ महिनामा ३ करोड ६८ लाखको फलफूल भित्रिएको छ । गिरीका अनुसार यहाँबाट सबैभन्दा बढी केरा, मेवा, अंगुर, स्याउ, सुन्तला र अनारलगायत फलफूल भारतबाट आयात हुँदै आएको छ ।

त्यसैगरी, भारतबाट चामल, दाललगायत खाद्यान्नसमेत आयात हुने गर्छ । यहाँबाट १ करोड ७८ लाख रुपैयाँ बराबरको उक्त खाद्य सामग्री भित्रिएको छ ।

कञ्चनपुर मण्डी व्यवसायी संघका अध्यक्ष विशाल सोनारले भारतबाट तरकारी आयात घटेको बताए । ‘स्थानीय उत्पादनमा कुनै समस्या देखिएन भने आयात घट्छ,’ अध्यक्ष सोनारले भने, ‘उत्पादन बढ्दा आयातमा कमी आउँछ ।’

स्वदेशमै तरकारी खेती बढिरेहको भए पनि व्यावसायिक रूपमा आबद्ध किसानलाई सरकारले अनुदान सहयोग बढाउनुपर्ने उनले बताए ।

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १५:३५
प्रतिक्रिया दिनुहोस्