विश्वविजेता रामोसले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

शुक्रबार, फागुन १२, २०७९

काठमाडौँ– विश्वकप विजेता स्पेनका फुटबलर सर्जियो रामोसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालहरूमार्फत बिहीबार सन्यासको घोषणा गरेका हुन् ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)मा आबद्ध डिफेन्डर ३६ वर्षीय रामोसले क्लब फुटबललाई भने केही समय निरन्तरता दिने भएका छन् । 

रामोस स्पेनको स्वर्णिम पुस्ताका एक सदस्य हुन् । उनीसहितको स्पेनको राष्ट्रिय टोलीले सन् २०१० मा विश्वकप र २००८ र २०१२ मा युरोकपको उपाधि जितेको थियो ।

पूर्वकप्तानसमेत रहेका रामोस राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेल्ने खेलाडी हुन् । उनले १८० खेल खेल्दै २३ गोल गरेका छन् ।  

२०२१ को मार्चयता रामोस राष्ट्रिय टोलीमा परेका थिएनन् । उनले २००५ मा डेब्यू गरेका थिए ।  
 

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  ०८:५३
प्रतिक्रिया दिनुहोस्