रोगको प्रकोपले सुक्न थाले केराका बोट

बुधबार, फागुन १०, २०७९

म्याग्दी– विगत २ वर्षदेखि म्याग्दीमा गरिएको व्यावसायिक केरा खेतीमा देखिएको गवारो रोगको प्रकोप नियन्त्रण हुन नसक्दा केरा खेती सुकेर खेर गएको छ ।

धान फल्ने खेत मासेर गरिएको केरा खेतीमा रोग लागेपछि किसान चिन्तित छन् ।

केरामा खपटे घुन र गवारो रोगको प्रकोपका कारण बोट तथा पात सुक्ने, कोसा पोटिलो नहुने रोग देखिएको छ ।

जिल्लाको बेनी नगरपालिका–२ बगरफाँट, खबराका साथै मंगला र रघुगंगा गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको व्यावसायिक केरा खेतीमा रोगको प्रकोप नियन्त्रण नभएपछि किसान चिन्तित भएका हुन् । 

त्यसैगरी, डढुवा रोगका कारण आलुका बोट पनि सुक्न थालेपछि किसानले औषधि प्रयोग गर्न थालेका छन् ।

कतिपय ठाउँमा औषधी प्रयोग गरे पनि रोगको प्रकोप कम नभएको बरु रातो कमिलासमेत देखिन थालेको बगरफाँटका कृषक जितबहादुर कार्कीले बताए ।

यता, केरा गाउँका रूपमा परिचय बनाएको बेनी–२ खबरा र बगरफाँट गाउँमा खपटे घुनले सयौँ रोपनी क्षेत्रफलमा लगाइएका केराका बोट सुक्न थालेका छन् ।

केरा खेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका खबराका चन्द्रबहादुर कार्की केराका बोट नपसाउँदै सुक्न थालेपछि चिन्तित छन् । उनले करिब ८ रोपनी खेतमा केरा खेती गरेका छन् ।

बगरफाँटका कृषक वेदप्रसाद शर्माले खपटे घुनले पसाएको केरामा दाग देखिने, केराका बोट सुक्दै जाने, बोट ढल्ने र उत्पादन पनि घट्दै गएपछि पेसा संकटमा परेको बताए ।

यहाँको सिंगो गाउँका कृषक केरा खेतीमा संलग्न छन् । सुरुआतमा सामान्य देखिए पनि केही समयपछि भने खेतीमा ठुलो क्षति पुर्‍याएको उनको भनाइ छ । 

आफ्नो करिब १० रोपनी धान फल्ने खेतमा केरा खेती गरेका दुर्गाबहादुर थापाले रोगको प्रकोपका कारण यस वर्ष केराको उत्पादन घटेको बताए ।

हजारी जातको केरा खेतीबाट वार्षिक ३ लाख आम्दानी हुँदै आएकामा रोगको प्रकोपले यस वर्ष उत्पादन र आम्दानी घटेको उनले बताए ।

‘झ्याङ भएको केरामा किरा र रोग लागेपछि सुरुमा पात सुक्दै जान्छ, त्यसपछि गुबो र विस्तारै बोट मर्ने गरेको छ,’ उनले भने ।

उपचारका लागि बोट वरिपरि काँटछाँट, सफाइ गर्ने र कृषि प्राविधिकको सिफारिसमा किटनाशक औषधि छर्कंदै आएको कृषक थापाले जानकारी दिए ।

रोकथाम र उपचारमा समन्वय गर्न नसक्दा क्षति पुगेको व्यावसायिक केरा खेती गर्दै आएका खबराका अर्का कृषक शोभित शर्माले बताए  ।

‘लगानी पनि उठ्न गाह्रो हुने देखियो, पसाउन सुरु गरेको केराको पात सुकेर बोट मर्न थाल्छ,’ उनले भने । 

धान फल्ने खेतमा केरा खेती गरेका यहाँका किसान धमाधम केराका बोट मर्ने र पसाएका केराका कोसा पनि पोटिला हुन नसकेपछि मारमा परेका छन् । उनीहरूले स्थानीय सरकारसँग सहुलियत र सहयोगको माग समेत गरेका छन् ।
 

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  १६:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
केरा खेतीबाट मनग्य आम्दानी
बुधबार, फागुन १०, २०७९