बाल स्वास्थ्य

उपचार गरे निको हुन्छ बालबालिकामा हुने क्यान्सर 

सोमबार, फागुन ८, २०७९

काठमाडौँ– आममानिसमा क्यान्सर लागेपछि ‘मान्छे मर्छ, उपचार गर्दा थुप्रै आर्थिक भार पर्छ’ भन्ने सोच गहिरिँदो छ । जसले गर्दा मानिस उपचारसमेत गर्न नजाने गरेको विज्ञहरू बताउँछन् ।

अझ बच्चालाई क्यान्सर भयो भने त एक प्रकारको आतंकजस्तो सिर्जना हुन्छ । बालबालिकालाई क्यान्सर भएको थाहा भयो भने ‘अब सबै सकियो’ जसरी अभिभावकले तनाव लिँदा क्यान्सर पीडितले समयमा उपचार पाउँदैन र समस्या जटिल बन्छ ।

तर अधिकांश बालबालिकामा हुने क्यान्सर समयमै उपचार गरे पूर्ण रूपमा निको हुन्छ । यही कुरा जनस्तरसम्म पुग्न नसक्दा बालबालिकामा हुने क्यान्सर पनि ‘गम्भीर’ प्रकृतिको बन्दै गएको विज्ञहरूको भनाइ छ । 

क्यान्सर नसर्ने रोगमध्येको प्रमुख रोगमा पर्छ । मुटु रोगपछि दोस्रो ठुलो रोगमा क्यान्सर पर्ने तथ्यांकले देखाउँछ । तथ्यांकका आधारमा हरेक वर्ष करिब ६० देखि ७० हजार मानिसमा क्यान्सर लाग्ने गरेको देखिन्छ । 

त्यसमध्ये बालबालिकामा हुने क्यान्सर भने समयमै उपचार गरेमा पूर्ण रूपमा सन्चो हुन्छ ।

समयमै उपचार गरेमा बालबालिकामा लाग्ने क्यान्सर निको हुने भएकाले त्रासभन्दा पनि उपचारतर्फ ध्यान दिनुपर्ने बताउँछन्– वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डाक्टर अम्बुज कर्ण । जसका लागि थप जनचेतना बढाउँदै लैजानुपर्ने उनको भनाइ छ । 

डाक्टर कर्णका अनुसार बालबालिकामा सामान्यतया २ प्रकारको ब्लड क्यान्सर देखिने गरेको छ । एउटा ल्युकेमिया र अर्को लिम्फोमा ।

क्यान्सरको लक्षण अन्य रोग जस्तै हुने भएकाले लामो समयसम्म ज्वरो आएमा, जोर्नी सुन्निएमा, दुखेमा, पेट फुलेमा वा साह्रो भएमा, फियो÷कलेजो सुन्निएमा, बच्चा अचानक दुब्लो हुँदै गएमा डाक्टरको सल्लाह लिन उनी सुझाउँछन् । 

यस्तै, शरीरका विभिन्न भाग अर्थात् घाँटी, काखी वा अन्य भागमा गाँठो आएमा, चोटपटकबिना गिजा वा नाकबाट रगत बगेमा, रक्तअल्पता भएमा महिनावारी भएका किशोरीहरूमा अत्यधिक रगत बग्ने समस्या देखिएमा अथाव असहज महसुस भएमा वा यीमध्ये कुनै एउटा लक्षण लामो समय देखिएको छ भने पनि नजिकको स्वास्थ्य संस्थामा गए परामर्श लिनुपर्ने उनी बताउँछन् । 

चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहअनुसार आवश्यक परीक्षण गरी सही समयमा उपचार सुरु गरेमा बालबालिकामा हुने रक्त क्यान्सरको प्रकृति हेरेर पूर्ण रूपमा निको हुन्छ ।

नेपालमा बालबालिकामा हुने रक्त क्यान्सरसम्बन्धी उपचार गर्ने प्रमुख सरकारी अस्पतालहरूमा कान्ति बाल अस्पताल, त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज, भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर अदि पर्छन् । 

क्यान्सरका बिरामीलाई विभिन्न शारीरिक समस्या हुन सक्छ । शारीरिक अशक्तताका कारण परिवार र आफन्त मानसिक तनावमा हुन्छन् ।

निदान पद्धतिको पहुँच सर्वसुलभ नहुने र ‘रेफेरल चेन’ सही तरिकाबाट समयमै नहुँदा क्यान्सर प्रभावित बालबालिकाका परिवारलाई आर्थिक भार बढी पर्न सक्ने विशेषज्ञ डाक्टर कर्ण बताउँछन् ।

काठमाडौँ बाहिरका बिरामीका परिवार आउँदा–जाँदा लाग्ने यातायात तथा काठमाडौँ बस्नुपर्दा लाग्ने खर्च, निदान र उपचारमा लाग्ने समय अनि खर्चको डरले उपचार नै नगराई बस्ने अर्थात् ढिलो उपचार गर्न आउने गरेको उनी बताउँछन् ।

डाक्टर कर्णका अनुसार नेपालमा प्रयोगशालाहरूको सेवा अझै सर्वसुलभ एवं बलियो बनाउन आवश्यक नीति तथा उचित व्यवस्थापन गर्नुपर्छ ।

त्यस्तै, क्यान्सरको उपचारका लागि चाहिने औषधिको पहुँच सबैमा पु¥याउन आवश्यक रहेको उनको भनाइ छ ।
 

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  ११:५७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार