सुत्केरीलाई निःशुल्क एम्बुलेन्स

मंगलबार, फागुन २, २०७९

झापा– झापाको कमल गाउँपालिकामा सुत्केरी महिलालाई लक्षित गरी सञ्चालन गरिएको एम्बुलेन्स सेवा कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

नेपाल रेडक्रस सोसाइटी कमल उपशाखाको समन्वयमा पालिकाले सञ्चालन गरेको महिलाका लागि सुत्केरी एम्बुलेन्स कार्यक्रम प्रभावकारी बन्दै गएको हो ।

रेडक्रसले मानवीय सेवासँगै यो कार्यक्रम सञ्चालन गरेपछि विपन्नका लागि सुत्केरी एम्बुलेन्स कार्यक्रम बरदानझै बन्न पुगेको रेडक्रस उपशाखा सभापति चन्द्र साहले बताए ।

साहका अनुसार पालिकाभित्र स्थायी बसोबाससँगै स्वास्थ्य जाँच नियमित गर्ने महिलालाई सुत्केरी हुने क्रममा निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्न थालिएको छ ।

चालु वर्षबाट सुरु भएको यस कार्यक्रममा रेडक्रसले आफ्ना दुइटा एम्बुलेन्स परिचालन गरेको छ । रेडक्रसलाई दातामार्फत ५ वर्षअघि एउटा एम्बुलेन्स प्राप्त भएको थियो । एउटा भने वर्ष दिनअघि मात्र पालिकामार्फत उपलब्ध भएको एम्बुलेन्सले सेवा पु¥याउँदै आएको छ ।

सेवा लिन बसोबास खुलेको कागजात, नियमित स्वास्थ्य जाँचजस्ता निश्चित शर्त पूरा गरेको हुनुपर्ने उपशाखा सचिव पारसमणि राई बताउँछन् ।

यस कार्यक्रमबाट ग्रामीण क्षेत्रका सुत्केरी महिला लाभान्वित भएको उनको भनाइ छ ।

चालु आर्थिक वर्ष २०७९÷८० देखि सुरु भएको यस कार्यक्रमबाट हालसम्म १३४ जनाले सेवा लिएका छन् । सेवा लिने अधिकांश विपन्न समुदाय रहेको तथ्यांकमा उल्लेख छ । सुत्केरी महिलालाई अस्पतालसम्म पु¥याएबापत पालिकाले इन्धन र न्यून सेवा शुल्क उपलब्ध गराउँदै आएको सचिव राईले बताए ।

प्रसूति गराउन घरबाट अस्पतालसम्म लैजान र प्रसूतिपछि घर फर्किनका लागि एम्बुलेन्स प्रयोग गरिन्छ । घरबाट अस्पताल र पुनः अस्पतालबाट घरसम्म जान एम्बुलेन्स निःशुल्क पाएपछि अधिकांश सेवाग्राहीले राहत महसुस गरेको कमल १ की सुत्केरी झलिमाया सन्थालले बताइन् ।

पालिकाले महिलाको स्वास्थ्य सुरक्षामा सघाउ पु¥याउन यस कार्यक्रमलाई समावेश गरी नयाँ कार्यक्रमको सुरुआत गरिएको अध्यक्ष हुकुमसिंह राई बताउँछन् । यस कार्यक्रमले महिलाको स्वास्थ्य सुरक्षामा टेवा पुगेको उनको बुझाइ छ ।

कार्यक्रमका लागि पालिकाले ३ लाख बजेट व्यवस्था गरेको छ । कार्यक्रमको प्रभावकारिता तथा सेवागुणस्तर उपयोगी बन्दै गए बजेट बढाउने लक्ष्य राखिएको उनले बताए ।

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  १६:२१
प्रतिक्रिया दिनुहोस्