नेपाल शान्ति क्षेत्र हो भन्ने सन्देश विश्वभर पुर्‍याऔँ : अर्थमन्त्री पौडेल

सोमबार, फागुन १, २०७९

काठमाडौँ– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले सामुदायिक रेडियोलाई पछि पार्ने नीति नलिएको बताएका छन् । 

सोमबार विश्व रेडियो दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 
मन्त्री पौडेलले सरकारले आजसम्म पनि सामुदायिक रेडियोलाई पछि पार्ने नीति नलिएको स्पष्ट पारे । आगामी दिनमा पछि पार्ने नीति नलिने उनले आश्वासन दिए । 

सामुदायिक रेडियोहरू पछि नपर्ने गरी आफ्ना कार्यक्रम र समाचार सम्प्रेष्ण गर्नुपर्ने बताउँदै उनले सामुदायिक रेडियोहरूको नवीकरण, दर्ता र करका विषयका समस्या समाधानका लागि प्रतिनिधिमूलक ढंगबाट मन्त्रालयमा छलफलका लागि आउन आग्रह गरे । 

उनले रेडियोहरूको गति तीव्र रूपमा अघि बढ्न जरुरी रहेको बताए । नेपाल शान्ति क्षेत्र हो भन्ने सन्देश रेडियोमार्फत विश्वभर पु¥याउन सक्नुपर्ने बताएका उनले विगतका शान्ति प्रक्रिया र द्वन्द्वका घाउलाई मल्हमपट्टी लगाउँदै अघि बढ्न आवश्यक रहेको जनाए ।

अर्थमन्त्री पौडेलले सामुदायिक रेडियोको भूमिका प्रशंसनीय रहेको पनि बताए । यस वर्ष रेडियो र शान्ति भन्ने नारासहित विश्व रेडियो दिवस मनाइएको छ ।
 

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  १०:४९
प्रतिक्रिया दिनुहोस्