सहकारीमा समस्या होइन, चुनौती छ, मिलेर सामना गरौं : रजिष्ट्रार घिमिरे

आइतबार, माघ २९, २०७९

ललितपुर –सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीमा समस्या नभई चुनौती रहेको भन्ने ठानेर नै समाधानका लागि सहकार्य गर्न सहकारी अभियानसँग आव्हान गरेका छन् ।

राष्ट्रिय सहकारी बैंकको सञ्चालक समितिसँग शनिवार भएको छलफल कार्यक्रममा बोल्दै रजिष्ट्रार घिमिरेले अबदेखि सहकारीकर्मीहरूले सहकारीमा समस्या होइन, चुनौती छ भन्ने बुझेर चुनौतीको सामना गर्न लाग्नु पर्नेमा जोड दिएका हुन् ।

उनले यतिबेला सहकारी क्षेत्रमा मात्र होइन, देशको अर्थतन्त्र र विश्वमा समेत वित्तीय संकट देखिएको बताए । सहकारीमा देखिएको वर्तमान समस्या सहकारीका कारण नआएको भन्दै उनले यसलाई समस्याका भन्दा पनि चुनौतिका रूपमा हेर्नुपर्ने बताए ।

‘चुनौतीको सामना गर्नका लागि राज्य र सहकारी अभियानबीच सहकार्य र समन्वय हुनुपर्दछ,’ रजिष्ट्रार घिमिरेले भने । सहकारीको विकास र प्रवद्र्धन गरी देशलाई आर्थिक रूपमा सवल बनाउनका लागि कानुन बाधक देखिए कानुन संशोधन गरेर अगाडि बढ्नु पर्नेमा जोड दिदै उनले कानुनले राम्रो कामका लागि वाधा होइन, सहजीकरण गर्नु पर्ने धारणा राखे ।     

बैंकका अध्यक्ष केबी उप्रेतीले वित्तीय संकटका कारण सहकारी क्षेत्रमा देखिएको चुनौतीको सामना गरी सहकारीलाई बचाउन अभियानका तर्फबाट भइरहेका कामको बारेमा जानकारी गराए । यतिबेला सहकारीलाई बचाउनु पर्ने वाध्यता रहेको उनको भनाइ छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईले सहकारी बैंकको विगत, वर्तमान र आगामी योजना लगायत सहकारी क्षेत्रको प्रवद्र्धन र विकासमा बैंकले निर्वाह गरेको भूमिका लगायतका विषयमा सहजीकरण गरेका थिए ।
 

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  ११:४७
प्रतिक्रिया दिनुहोस्