प्रविधिमार्फत खानेपानी र उर्जा क्षेत्रको स्तरोन्नती गर्न सरोकारवालाहरु एकजुट

बुधबार, माघ २५, २०७९

काठमाडौँ–नेपालको शहरी क्षेत्रमा खानेपानी तथा उर्जा सेवालाई थप परिस्कृत बनाउन नयाँ प्रविधिको प्रयोग गर्नूपर्नेमा सरोकारवाला पक्षहरु एकजुट भएका छन् ।

बुधबार काठमाडौँमा आयोजित ‘नेपालमा शहरी खानेपानी तथा उर्जा सेवा स्तरीकरण’ विषयक अन्तरक्रियात्मक कार्यक्रममा सरोकारवाला पक्षहरु एकजुट भएका हुन् ।

शहरी सेवा प्रबन्धका चुनौतिहरूलाई ध्यानमा राख्दै नयाँ प्रविधिको प्रयोग गरी खानेपानी तथा उर्जा सेवालाई थप परिस्कृत बनाउन सकिने उनीहरुको धारणा छ ।

दियालो टेक्नोलोजिज् र घामपावरको सहकार्यमा आयोजित कार्यक्रममा सहभागीहरुले अहिले विकास भएका नयाँ प्रविधिको प्रयोगबाट मात्र गुणस्तरिय सेवा दिन सकिन्छ भन्ने कुरामा जोड दिए ।

कार्यक्रममा दियालो टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले ‘खानेपानीमा डिजिटाइजेशन ः समस्या र चुनौती’का विषयमा कार्यपत्र प्रस्तुत गरे । उनको कार्यपत्रमाथि खानेपानी तथा ढल विकास विभागका महानिर्देशक ई.रमाकान्त दुवाडी, नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण सापकोटालगायतले टिप्पणी गरे । उनीहरुले अहिलेका चुनौती र आगामी आवश्यकतामा जोड दिँदै प्रविधिकै प्रयोग गरी सेवालाई थप प्रभावकारी बनाउन जोड दिएका छन् । 

नेपालमा शहरी ऊर्जा र खानेपानीको सेवा प्रवाहमा वर्तमान चुनौतीहरू बुझेर साझेदारी गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिए । आपसी समझदारीका क्षेत्रहरू पहिचान गर्नका लागि छलफल भएको उनीहरुको भनाई छ । 

यस्तै, कार्यशालामा पहुँचयोग्य, किफायती ऊर्जा र सुरक्षित खानेपानीका लागि सरोकारवालाहरूले विचार र दृष्टिकोण साझा गर्नुपर्नेमा जोड दिए । कम र मध्यम आय भएका देशहरूका उत्कृष्ट अभ्यास र अनुभवबाट खानेपानी र ऊर्जाको क्षेत्रमा सार्वजनिक तथा निजी साझेदारीलाई स्पष्ट बनाउने विषयमा छलफल केन्द्रित रहेको थियो । 

कार्यक्रममा नेपालका खानेपानी तथा ऊर्जा विभागका बीस भन्दा बढी बरिष्ठ सरकारी अधिकारी सहभागी भएका थिए । 
त्यस्तै, जल तथा ऊर्जा क्षेत्रमा काम गर्ने नीजि संस्थाहरू दियालो टेक्नोलोजिज्, घामपावर तथा इसेवा,  जियो कृषि, प्राक्टिकल एक्सनलगायतले कार्यक्रममा भाग लिएका थिए । 

कार्यशालाले शहरी क्षेत्रमा ऊर्जा र खानेपानी सेवाहरू स्तरीकरण गर्न डिजिटल समाधान र साझेदारीको सम्भावनाको बारेमा चेतना जगाउने आशा राखिएको आयोजकले बताएको छ ।

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  २०:१७
प्रतिक्रिया दिनुहोस्