अर्थतन्त्र ड्राइभ गर्न सक्ने सक्षम नेतृत्व भएन : गोल्छा

बुधबार, माघ २५, २०७९

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रलाई ड्राइभ गर्न सक्ने सक्षम नेतृत्व नहुँदा अर्थतन्त्रमा समस्या आएको दाबी गरेका छन् । 

मंगलबार महासंघले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले मुलुकको अर्थतन्त्र ड्राइभ गर्ने सक्षम नेतृत्व नहुँदा अर्थतन्त्रमा चुनौतीहरू देखिएको बताएका हुन् । 

नेतृत्वले अर्थतन्त्रमा आउने खतराको अनुमान पहिल्यै गर्न नसक्दा अर्थतन्त्र दुर्घटनामा परेको उल्लेख गर्दै उनले अर्थतन्त्रमा धेरै खाले स्पिड ब्रेकरहरू आएको भन्दै भूकम्प, कोभिडलगायतले सबैलाई असर परेको बताए । 

अध्यक्ष गोल्छाले भूकम्प, कोभिडका बेला अर्थतन्त्रको लिमिटभन्दा बढी तीव्र गतिमा अगाडि बढ्न खोज्दा अर्थतन्त्रमा अहिलेको अवस्था भोग्नुपरेको बताए । 

अर्थतन्त्रलाई ड्राइभ गर्ने अर्थ मन्त्रालय र राष्ट्र बैंकको नेतृत्वले दूरदृष्टि नराख्दा अहिलेको अवस्था सिर्जना भएको उनको भनाइ थियो ।

उनले अर्थतन्त्रमा सबैभन्दा चलाख बैंकर देखिएको उल्लेख गरे । बैंकरहरू अर्थतन्त्रमा समस्या आउनुभन्दा पहिला नै हामफाल्न सफल हुँदा बैंकहरू ठुलो दुर्घटनामा नपरेको उनको दाबी छ । 

उनले अर्थतन्त्र ड्राइभ गर्ने अर्थ मन्त्रालय र राष्ट्र बैंकले अर्थतन्त्र दुर्घटनामा पर्नुभन्दा पहिले नै ब्रेक हान्न सफल भएकाले अर्थतन्त्र दुर्घटना पर्नबाट जोगिएको पनि बताए ।  

सिसिडी रेसियोबाट सिडी रेसियो, आयात प्रतिबन्ध, चालु पुँजी कर्जासम्बन्धी नीतिले अर्थतन्त्र संकटमा पर्नबाट जोगाए पनि अर्थतन्त्र चलायमान हुन नसकेको उनको बुझाइ छ । 

अध्यक्ष गोल्छाले सरकारले अर्थतन्त्रमा ब्रेक लगाउँदा अर्थतन्त्र बचे पनि उद्योगी व्यवसायीको हातखुट्टा भाँचिएको बताए । सरकारले उद्योगी व्यवसायीहरूको हातखुट्टामा मल्हम लगाउन आवश्यक रहेको भन्दै उनले सरकारले उद्योगी व्यवसायीहरूको समस्या समाधान गरी अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक रहेको बताए । 

अध्यक्ष गोल्छाले सहकारी र लघुवित्तमा तरलता सहज नहुँदासम्म अर्थतन्त्र चलायमान हुन नसक्ने धारणा राखे । उनले तल्लो तहमा तरलता सहज नहुँदासम्म बजारमा माग नबढ्ने र माग नबढ्दासम्म बजारमा आर्थिक गतिविधि बढ्न नसक्ने दाबी गरे । 

पछिल्लो समय बजारमा माग कम हुँदै गएकाले माग नबढ्दासम्म आयात बढ्न नसक्ने भन्दै अध्यक्ष गोल्छाले आयात नबढेको अवस्थामा सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसक्ने बताए 

सरकारले अर्थतन्त्र जोगाउनेतर्फ मात्रै नलागेर अर्थतन्त्र चलायमान बनाउन तल्लो तहसम्म तरलता सहज हुने वातावरण बनाउन आवश्यक रहेको उनको सुझाव छ ।  

उनले क वर्गका वाणिज्य बैंकले मात्रै नभई सहकारी र लघुवित्त संस्थाबाट सहजै कर्जा लिन मिल्ने वातावरण बनाएर अर्थतन्त्र चलायमान बनाउन सकिने बताए । अहिले विदेशी मुद्राको सञ्चितिमा सुधार, शोधानान्तर स्थिति बचत भएको उनको भनाइ छ । 

अध्यक्ष गोल्छाले नेपालको जिडिपीभन्दा धेरै ऋण प्रवाह भए पनि वित्तीय क्षेत्रमा जोखिम नरहेको बताए । उनले नेपालको वित्तीय क्षेत्रले अर्थतन्त्रको आकारभन्दा बढी ऋण प्रवाह गरे पनि उत्पादनमूलक क्षेत्रमा लगानी नभएको संकेत गरे ।

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १३:२७
प्रतिक्रिया दिनुहोस्