टर्की र सिरियामा भूकम्प

झण्डै ४५०० भन्दा बढीको मृत्यु [तस्बिरसहित]

मृत्यु हुनेको सङ्ख्या ८ गुणा बढ्न सक्ने डब्लुएचओको अनुमान
मंगलबार, माघ २४, २०७९

काठमाडौँ– टर्की र छिमेकी देश सिरियामा सोमबार बिहान गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या साढे ४ हजारभन्दा बढी पुगेको छ ।

मानिस सुतिरहेको समयमा टर्कीको गाजियन्टेपनजिकै केन्द्रविन्दु भएर ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण हजारौँ भवनहरू भत्किएको बीबीसीले जनाएको छ ।

भूकम्पविद्हरूले सोमवार गएको पहिलो भूकम्प टर्कीमा अभिलेखीकरण गरिएकोमध्ये अहिलेसम्मकै सबैभन्दा ठूलो भूकम्प भएको बताएका छन् । भूकम्प महसुस गरेका मानिसहरूका अनुसार कम्पन रोकिन करिब २ मिनेट लागेको थियो ।

बीबीसीका अनुसार भूकम्पका कारण टर्की र टर्कीसित सीमा जोडिएको सिरियामा गरी मृत्यु हुनेको संख्या ४ हजार ५०० भन्दा बढी पुगेको छ । १५ हजारभन्दा बढी मानिस घाइते भएको जनाइएको छ ।

स्थानीय समयानुसार सोमबार बिहान ४ बजेर १७ मिनेटमा गएको भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट १७.९ किमि गहिराइमा थियो । सोमबार नै दिउँसो टर्कीमा अर्को शक्तिशाली भूकम्प गएको थियो । ७ दशमलव ५ म्याग्निच्युडको उक्त भूकम्पको केन्द्रविन्दु कहरामनमारस प्रान्तको एल्बिस्तान जिल्लामा रहेको बीबीसीले जनाएको छ ।

भूकम्पपछि प्रभावित क्षेत्रमा विशाल भवनहरू खण्डहरमा परिणत भएको छ । ध्वस्त भएका भवनहरू मध्ये गाजीयान्टेप कासल ऐतिहासिक महत्वको थियो जुन २ हजार वर्षभन्दा पुरानो हो ।

बीबीसीका अनुसार उद्धारकर्ता भारी वर्षा र हिउँसँग लडिरहेका छन् । भूकम्पपछि भग्नावशेषमा फसेकालाई उद्धार गर्न उनीहरू खटिएका छन् ।

टर्की विश्वको सबैभन्दा सक्रिय भूकम्पीय क्षेत्रहरूमध्ये एक हो ।

सन् १९९९ मा देशको उत्तर–पश्चिममा शक्तिशाली भूकम्प गएपछि १७,००० भन्दा बढी मानिसले ज्यान गुमाएका थिए ।

सन् १९३९ मा टर्कीको पूर्वी एर्जिनजन प्रान्तमा भूकम्प जाँदा ३३,००० मानिसको ज्यान गएको थियो र त्यसलाई सबैभन्दा विध्वंसकारी भूकम्प ठानिन्छ ।

मृतक ८ गुणा बढ्न सक्ने

भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ८ गुणा बढ्न सक्ने विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले जनाएको छ ।

टर्की र सिरियाका प्रभावित क्षेत्रहरूमा ज्यान गुमाउने र घाइते हुने दुवैको सङ्ख्या तीव्र रूपमा बढ्दो छ ।

उद्धारकर्मीहरूले भग्नावशेषमा थुप्रै मृतक भेटेका छन् र त्यो सङ्ख्या ८ गुणासम्म बढ्न सक्ने डब्लूएचओले चेतावनी दिएको छ ।

‘भूकम्प जाँदा दुर्भाग्यवश परिस्थिति दोहोरिन्छन् । मृतक र घाइते भएकाहरूको सङ्ख्याबारे प्रारम्भिक विवरण केही सातापछि उल्लेख्य रूपमा वृद्धि हुन्छ’, युरोपका लागि डब्लूएचओका वरिष्ठ आपत्कालीन अधिकारी क्याथरिन स्मलवुडले समाचार संस्था एएफपीलाई भनेकी छन् ।

स्मलवुडले हिउँका कारण धेरै मानिसहरू आवासविहीन हुने जोखिमसमेत बढाएको जानकारी दिइन् ।

धेरै पीडितहरू युद्धग्रस्त उत्तरी सिरियामा छन् जहाँ लाखौँ शरणार्थीहरू टर्कीसँगको सीमा क्षेत्रमा दुवै भूभागका शिविरहरूमा आश्रित छन् ।

टर्कीको ऊर्जा पूर्वाधारमा क्षति पुगेको छ र दक्षिणी टर्कीमा ठूलो आगलागी भएको भिडिओहरू सार्वजनिक भएका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ग्यास प्रवाह प्रणालीमा क्षति पुगेका कारण आगो लागेको दाबी गरेका छन् ।

टर्की रेड क्रिसेन्टले त्यहाँका सर्वसाधारणलाई रक्तदान गर्न आह्वान गरेको छ । उक्त सङ्गठनका अध्यक्ष केरेम किनिकले ट्विटरमा लेखेअनुसार प्रभावित क्षेत्रमा थप रगत र चिकित्सकीय सामग्रीहरू पठाइँदै छ ।

टर्कीले अन्तर्राष्ट्रिय सहयोग अपिल गरेपछि ४५ देशहरूले सहयोगको प्रस्ताव गरेको टर्कीका राष्ट्रपति राष्ट्रपति रेजेप ताइयीप एर्दोआनले बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले यस सङ्कटको घडीमा अन्तर्राष्ट्रिय प्रतिक्रियाको लागि आह्वान गरेका छन् । युरोपेली सङ्घले टर्कीमा खोजी तथा उद्धार टोली पठाइरहेको जनाएको छ । 

तस्बिरमा भूकम्प पछिको दृश्य

t41675752343.jpg

t31675752287.jpg

t21675752209.jpg

t516757451701675752102.jpg

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १२:२२
प्रतिक्रिया दिनुहोस्