टर्की भूकम्प अपडेट

टर्की भूकम्प : मृतकको संख्या करिब २०० पुग्यो

राष्ट्रिय संकटकाल घोषणा
सोमबार, माघ २३, २०७९

काठमाडौँ –टर्कीमा शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या करिब २०० पुगेको छ । टर्की र सिरियाको ठूलो भूभागमा उद्धारकर्ताहरूले खोज तथा उद्धारको काम जारी राखेका छन् ।

७ दशमलव ८ म्याग्निच्युडको भूकम्पले टर्कीको गाजीयान्टेप प्रान्तलाई केन्द्रबिन्दु बनाउँदा कैयौँ भवनहरू भत्किएका छन् । उक्त क्षेत्रमा लाखौँ सिरियाली शरणार्थीहरूको बसोबास छ ।

हालसम्म द्वन्द्व प्रभावित उत्तरी सिरियामा १०० भन्दा बढी मृत्यु पुष्टि भएका छन् । भूकम्पको धक्का लेबनान र गाजामा समेत महसुस गरिएको थियो ।

टर्कीले सङ्कटकालको घोषणा गरेको छ र अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ ।

राष्ट्रपति रेजेप तयीप एर्दोआनले सामाजिक सञ्जाल ट्विटरमार्फत् सन्देश दिँदै यस विपद्बाट सबै एकैसाथ पार लाग्ने बताएका छन् ।

उनले प्रभावित क्षेत्रहरूमा खोज तथा उद्धार टोली तत्कालै पठाइएको भन्दै अरू युनिटहरूलाई पनि सतर्क अवस्थामा राखिएको बताए ।

भूकम्प गएको स्थान दक्षिण–पूर्वी टर्कीस्थित गाजीयान्टेप सिरियासँगको सीमानजिकै पर्छ ।

अमेरिकाको जियोलोजिकल सर्भेका अनुसार टर्कीको स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको हो। 

भूकम्पको धक्का राजधानी अङ्कारासहित टर्कीका विभिन्न सहरहरूमा महसुस भएका विवरणहरू प्राप्त भएको छ ।

टर्की विश्वको सबैभन्दा सक्रिय भूकम्पीय क्षेत्रहरू मध्ये एक हो । सन् १९९९ मा देशको उत्तर–पश्चिममा शक्तिशाली भूकम्प गएपछि १७,००० भन्दा बढी मानिसले ज्यान गुमाएका थिए ।

यसैबीच संयुक्त राज्य अमेरिकाले उक्त विपद्का विवरणबाट आफू गम्भीर रूपमा चिन्तित रहेको जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले कसरी मद्दत पु¥याउन सकिन्छ भनेर विश्लेषण गर्न देशको अन्तर्राष्ट्रिय सहायता निकायलाई निर्देशन दिएका छन् ।

turkey earthquake1675665049.jpg


 

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १२:१३
प्रतिक्रिया दिनुहोस्