नेभिगेशन
समाचार

भ्रष्टाचारविरुद्ध कलम चलाउनुहोस् : मन्त्री गिरी

चितवन – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले पत्रकारलाई भ्रष्टाचारविरुद्ध कलम चलाउन आग्रह गरेका छन् । प्रेस चौतारी नेपालको २५औँ स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा भ्रष्टाचारकाे पर्खाल ताेड्ने गरी कलम चलाउन आग्रह गरेका हुन् । 

'तपाईंहरुको कलम भ्रष्टाचार विरुद्धमा बम र बाढी हुन सक्ने गरी चलाउनुहोस्, भ्रष्टाचारको पर्खाल तोड्ने, मुलुकलाई सुशासन दिने बाटोमा अघि बढाएर लिएर जानुपर्ने छ,  विकास र समृद्धिका निम्ती उत्पादनका क्षेत्रमा विकास गरेर अघि बढ्नुपर्ने समय आएको छ,' उनले भने । 

देशमा राजनीतिक रुपमा धेरै ठूला परिवर्तन भएको भन्दै मन्त्री गिरीले परिवर्तनअनुसार पत्रकारका कलम चल्नुपर्ने बताएका हुन् । 

अहिले मुलुकको एउटै मुद्दा आर्थिक समृद्धिको भएको भन्दै उनले आर्थिक समृद्धिको बाटोमा लिएर जाने र गरिबीको अन्त्य गर्ने जिम्मेवारी आएको बताए। देशलाई समृद्धिको बाटोमा हिँडाउन र गरिबी अन्त्यको बाधक बनेको भ्रष्टाचारको पर्खाल हटाउन जरुरी रहेको बताए ।  

परिवर्तनको पक्षमा हिम्मत र आँट गरेर कलम चलाउन पत्रकारलाई आग्रह गर्दै उनले पत्रकारले आफ्नो समाचारप्रति जवाफदेही हुँदै समाजलाई सुधारको बाटोमा लैजानुपर्ने बताए । सरकारले गरेका काममा नियमित खबरदारी गर्दै सही बाटोमा हिँडाउने जिम्मेवारी पत्रकारमा रहेको उनको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार