कर्जा अपचलनकाे आराेपमा कामना सेवा विकास बैंकका सिइओसहित ४ जना पक्राउ

बुधबार, माघ १८, २०७९

काठमाडौं– कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रवीण बस्नेतसहित चार जना झापामा पक्राउ परेका छन् ।

दमक प्रहरी कार्यालयले उनीहरूलाई प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी दुर्गाराज रेग्मीले सिएन नेपाललाई जानकारी दिए । 

पक्राउ पर्नेमा बस्नेतसहित हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारी रहेका छन् । 

उनीहरुले कम धितोमा बढी कर्जा प्रवाह गरेको कसुरमा उजुरी परेपछि पक्राउ गरिएको दमकमा रहेको इलाका प्रहरी कार्यालयका डिएसपी दिलिप गिरीले बताए ।  

घटनामा संलग्न अन्य केही व्यक्ति फरार रहेको र उनीहरुको खोजी भइरहेको उनले बताए ।

इलाका प्रहरी कार्यालयले नै उनीहरुका बारेमा थप अनुसन्धान गरिरहेको गिरीले बताए । 

बैंकका सिइओ लगायतको टिमले विभिन्न फर्जी कम्पनी खडा गर्ने र कम मूल्यको धितोमा नै अधिक कर्जा प्रवाह गर्ने पाइएको उनले बताए । 

उक्त सूचनाको आधारमा बैंकले नै आन्तरिक छानविन गरेपछि थप अनुसन्धानका लागि राष्ट्र बैंकलाई भनेको र राष्ट्र बैंकको अनुसन्धानमा पनि आरोप पुष्टि हुने आधार देखिएको थियो । 

राष्ट्र बैंकले थप अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)लाई भनेपछि इलाका प्रहरी कार्यालय दमकलाई अनुसन्धान गर्ने जिम्मा आएको गिरीले बताए ।

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  १९:१६
प्रतिक्रिया दिनुहोस्