‘लोकतन्त्रलाई राजनीतिक अधिकारको संकुचित परिभाषामा सीमित नगरौँ’

सोमबार, माघ १६, २०७९

काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समाज र राष्ट्रको हितमा निःस्वार्थ रूपमा सक्रिय हुँदै अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।

सहिद दिवसको अवसरमा सन्देश दिँदै उनले सहिदको बलिदानी स्वरूप प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने अभियानमा रहेको बताएका छन् । 

सबल लोकतन्त्र, सुदृढ अर्थतन्त्र, सुशासन र सामाजिक न्यायको व्यावहारिक कार्यान्वयनमार्फत मुलुकमा नवनिर्माणको शृंखला अघि बढाएर मात्र सहिदले देखाएको मार्ग अनुशरण गर्न सक्ने उनको भनाइ थियो । 

अध्यक्ष ओलीले सहिदले देखेको सपनाको सार राजनीतिक स्वतन्त्रता मात्र नभई देशको समृद्धि र जनताको सुख पनि रहेको बताए ।

‘देशको समृद्धि र जनताको सुख प्राप्तिका लागि हामी राजनीतिक स्थिरता, सुशासन, विकास र समृद्धिको दूरगामी यात्रालाई पुनः अगाडि बढाउने प्रयासमा अघि बढिरहेका छौँ,’ उनले भने । 

उनले अकर्मण्य, कर्तव्यहीन, उद्देश्यहीन र गन्तव्यहीन प्रवृत्तिबाट देशलाई मुक्त गर्दै पुनः सुशासन र समृद्धितर्फको यात्रामा केन्द्रित गर्नेतर्फ एमालेले अग्रसरता लिएको बताए ।

उनले एमाले देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न चाहेको उल्लेख गर्दै लोकतन्त्रलाई राजनीतिक अधिकारको संकुचित परिभाषाबाट माथि उठाउँदै जनताका सम्पूर्ण आवश्यकता र अधिकार परिपूर्तिको जीवन मूल्य समेटिएको परिपूर्ण लोकतन्त्रका रूपमा व्यवहारमा अनुदित गर्ने बताए ।

‘जनताको जीवनमा परिवर्तन ल्याउन देशलाई सुशासनयुक्त, पछौटेपनमुक्त, गरिबीरहित, सुशिक्षित, आधुनिक, समृद्ध र सुविधासम्पन्न बनाउनुपर्छ,’ उनले सन्देशमा भनेका छन्, ‘यसका लागि लोकतान्त्रिक अभ्यास व्यक्ति र समूहका निजी दुराकांक्षाको पूर्तिमा आधारित नभएर स्तर राजनीति र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा परिपूर्तिको उद्देश्यमा केन्द्रित हुनुपर्छ । अमर सहिदको बलिदानीले हामीलाई गरेको मार्गदर्शन पनि यही हो ।’

सन्देशमा जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था र जन्मसिद्ध श्रेष्ठताका आधारमा चलेको निरंकुश राजतन्त्रात्मक व्यवस्थाको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेर स्वप्नद्रष्टा सहिदको बलिदानमार्फत हामीले सामाजिक न्याय, कानुनी शासन र जनाधिकारसहितको न्यायपूर्ण व्यवस्था प्राप्त गरेको उल्लेख छ ।
 

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १०:५३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार