लघुवित्तलाई आर्थिक सुशासनमा ध्यान दिन राष्ट्र बैंकको आग्रह

आइतबार, माघ १५, २०७९

काठमाडौँ– नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरूले लघुवित्त वित्तीय संस्थालाई आर्थिक सुशासनमा ध्यान दिन आग्रह गरेका छन् । 

काठमाडौँमा आज भएको नेपाल लघुवित्त बैंकर्स सङ्घको १६औँ वार्षिक साधारणसभामा राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुङ्गानाले संस्थागत सुशासनमा कैफियत देखिएकाले सुधार्नु पर्नेमा जोड दिए । उनले आर्थिक पारदर्शिता र कर्पोरेट सुशासन सुधार महत्वपूर्ण रहेको उल्लेख गरे । 

कार्यक्रममा राष्ट्र बैंकका सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले वित्तीय क्षेत्रमा जोखिम बढिरहेको सन्दर्भमा ग्राहक संरक्षण महत्वपूर्ण विषयमा भएको बताए । उनले लघुवित्तहरू मुनाफा कमाउनेतर्फ ध्यान केन्द्रित हुँदा समस्या भएको स्मरण गराउँदै मुनाफामा होडबाजी नगर्न सुझाव दिए । 

राष्ट्र बैंकको वित्तीय बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा गुणाकर भट्टले ग्राहक पहिचान र विकासमा ध्यान दिन आग्रह गरे । बजारको अवस्था नहेरी कर्जा प्रवाह गर्दा समस्या हुनेतर्फ सचेत हुन उनले आग्रह गरे ।

कार्यक्रममा सङ्घका महासचिव रामबहादुर यादवले लघुवित्तहरू महिलाको सशक्तिकरण र आर्थिक रुपान्तरणमा सहयोगी बनेको उल्लेख गरे । उनले राष्ट्र बैंकले वित्तीय संस्था मैत्री नीतिनियम ल्याउन जरुरी रहेको औँल्याए ।

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  २१:३४
प्रतिक्रिया दिनुहोस्