राजदूत पौडेलको उच्चस्तरीय भेटवार्ता गृहमन्त्रीले नेपाल भ्रमण गर्ने

आइतबार, माघ १५, २०७९

काठमाडौँ– मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा उच्चस्तरीय भेटवार्ता गरेका छन् । राजदूत पौडेलले मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल र मानव संशाधनमन्त्री भी शिवकुमारसँग छुट्टाछुट्टै भेटवार्ता गरी नेपाल तथा मलेसियाबीच रहिआएको द्विपक्षीय सम्बन्ध विस्तार र आपसी हितका बारेमा छलफल गरेको नेपाली दूतावासले जनाएको छ ।

सो अवसरमा उनीहरुबीच नेपाली युवाका लागि आकर्षक श्रम गन्तव्य रहेको मलेसियामा सङ्ख्यात्मकसँगै गुणात्मक वृद्धि कसरी गर्ने भन्नेबारे विचार विमर्श भएको थियो । नेपाली श्रमिक शून्य लागतमा जाने व्यवस्थाको प्रभावकारी कार्यान्वयनका साथै मलेसियामा नेपाली श्रमिकका लागि प्राप्त हुन सक्ने थप रोजगारीका अवसर र कार्यरत नेपाली श्रमिकको सेवा सुविधाबारे पनि कुराकानी भएको थियो ।

उनीहरूले द्विपक्षीय, क्षेत्रीय तथा वहुपक्षीयस्तरमा पारस्परिक हितका विषयमा साझेदारी गर्दै दुवै मुलुकको राष्ट्रिय हित प्रवद्र्धन गर्न एकअर्कालाई सहयोग गर्दै अघि बढ्नेबारेमा छलफल गरेका थिए।

गृहमन्त्री इस्माइलसँग निकट भविष्यमा उनको नेतृत्व हुने उच्चस्तरीय नेपाल भ्रमणबारे कुराकानी भएको थियो । भ्रमणका क्रममा मलेसियाको ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लान’बारे गृहमन्त्री इस्माइलले नेपाली अधिकारीसँग छलफल गर्नेछन् ।

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १७:४८
प्रतिक्रिया दिनुहोस्