स्वाद अलैंचीको, मीठास नेपालको परम्परागत र फ्युजन नेपाली परिकारहरुको रेसिपी बुक सार्वजानिक

आइतबार, माघ १५, २०७९

काठमाडौँ –वाह अलैंची अभियानले नेपालको विशिष्ट उत्पादन अलैंचीको प्रयोग गरी तयार गरिने परम्परागत र फ्युजन नेपाली रेसिपीहरूसहितको पहिलो रेसिपी बुक सार्वजानिक गरेको छ । पुस्तकमा मास्टरशेफ सन्तोष शाह र प्रशिक्षार्थी तथा अन्य शेफहरूबाट विशेष रूपमा छानिएका ४० भन्दा बढी रेसिपीहरू समावेश गरिएका छन् । साथै रेसिपी बुकमा सेकुवा, चिया र खीर जस्ता सदाबहार व्यञ्जनहरूका लागि आवश्यक मसलाहरु तयार गर्ने विधि पनि समावेश गरिएको छ ।
यस पुस्तकमा समावेश गरिएका रेसिपीहरू, वाह अलैंची अभियान अन्तर्गत पहिलो चरणमा आयोजना गरिएको प्रशिक्षार्थीहरू बीचको खाना बनाउने प्रतियोगिताबाट संकलन गरिएको हो । प्रतियोगितामा अलैंचीलाई मुख्य सामगी्रको रूपमा प्रयोग गरिएको थियो, जसमा विराटनगर, सौराहा र काठमाडौँका हाटेलहरूका प्रोफेसनल शेफ तथा कलिनरी विद्यालयका युवा प्रशिक्षार्थीहरू उत्साहका साथ सहभागी भएका थिए । 
सन् २०२२ जुलाई महिनामा नेपाल अलैंची व्यवसायी महासंघले प्रदेश १ को उद्योग, कृषि तथा सहकारी मन्त्रालय र स्वीस सरकार विकास सहयोगको सहयोगमा हाटेल एसोसिएसन नेपालसँगको सहकार्यमा, वाह अलैंची अभियान सुरु गरिएको थियो । अभियान घरेलु तथा व्यावसायिक उपभोक्ता माझ अलैंचीको प्रयोग र उपभोगमा सचेतना अभिवृद्धि गर्नमा केन्द्रित छ । साथै, यस अभियानले नेपाली घरपरिवारलाई अलैंचीको फाइदा र स्वादबारे जानकारी गराउने लक्ष्य राखेको छ ।

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १७:३६
प्रतिक्रिया दिनुहोस्